५० करोडको हल्ला पुष्टि गर्न प्रचण्डपुत्री गङ्गाको चुनौती, छानबिनका लागि तयार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री एवं स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपहरूको कडा शब्दमा खण्डन गरेकी छिन्। सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण दिँदै उनले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको बताएकी छन्।
विगतमा ‘दुबईमा ४० अर्ब रहेको’ र ‘भाटभटेनी लगायतका ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ भनी लगाइएका आरोपहरू पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको दाहालको भनाइ छ। उनले यस्ता आरोप फैलाउनेहरूलाई त्यसको पुष्टि गर्न सार्वजनिक चुनौती समेत दिएकी छन्।
“राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,” दाहालले लेखेकी छन्, “म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्?”
आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि सधैँ तयार रहेको उल्लेख गर्दै उनले भनिन्, “हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केही समयअघि नै बुझाइसकेका छौँ। सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ। गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ।”
आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको स्मरण गर्दै उनले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने आफ्नो ‘स्कुलिङ’ रहेको बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment