लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला, स्थानीय उद्यमीलाई बजारको अवसर

डिसी नेपाल
५ भदौ २०८३ ९:०८

काठमाडौं । ललितपुरस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ । नेपालमै बनेका तथा नेपाली उद्यमीले आफ्नै सीप र श्रमबाट उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका वस्तु राखिने गरेका छन् । बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने मेलामा ग्राहकको उल्लेख्य चहलपहल हुने गरेको व्यवसायीहरू बताउँछन् ।

मेलामा स्टल राख्न व्यवसायीले प्रतिदिन करिब १ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । कम लगानीमा आफ्ना उत्पादन बजारमा पुर्याउन चाहने साना तथा घरेलु उद्यमीका लागि मेला उपयोगी बनेको व्यवसायीहरूको भनाइ छ ।

मेलामा ‘देसी ग्रब’ नामक हर्बल वेलनेस उत्पादनको स्टल राख्दै आएका कविन्द्र मोदीले काठमाडौंको चापागाउँमा उत्पादन गरिएका हर्बल सामग्री बिक्री गर्दै आएको बताए । उनका अनुसार अर्गानिक तथा कोल्ड प्रेस आयल, हेयर आयल, फेस आयल, हाडजोर्नी दुखेको तेल, सुपरफुड र हर्बल चियासहित ८–९ प्रकारका उत्पादन बिक्रीमा छन् । उत्पादनको मूल्य करिब १ सयदेखि २ हजार रुपैयाँसम्म रहेको उनले बताए ।

त्यस्तै, ‘क्यान्डल कथा’ सञ्चालन गर्दै आएकी सन्ध्या थापा मगरले घरमै तयार गरिएका मैनबत्ती लबिम मलमा बिक्री गर्दै आएकी छन् । तीन जना साझेदार मिलेर घरमै उत्पादन गर्ने र स्टलमार्फत बिक्री गर्ने गरिएको उनले बताइन् । व्यवसाय कम लगानीमा पार्टटाइमका रूपमा सुरु गरिएको उनको भनाइ छ ।

उनका अनुसार मैनबत्तीको बिक्री अनलाइनमार्फत समेत भइरहेको छ । इन्स्टाग्राम, फेसबुक, टिकटक र ह्वाट्सएपबाट अर्डर लिने गरिएको छ । काठमाडौं उपत्यकामा सामान्यत सोही दिन वा भोलिपल्ट तथा उपत्यकाबाहिर १–२ दिनमा डेलिभरी गर्ने गरिएको उनले बताइन् । लबिम मलमा हरेक शनिबार लाग्ने मेलाले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउनुका साथै साना तथा घरेलु उद्यमीलाई बजार विस्तारको अवसर दिएको छ । स्थानीय सीप, श्रम र उत्पादनलाई प्रोत्साहन गर्न यस्ता मेला उपयोगी हुने व्यवसायीहरूको अपेक्षा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *