त्याग र समर्पणबाट मात्रै समाज परिवर्तन सम्भव हुन्छ : झलनाथ खनाल

डिसी नेपाल
६ भदौ २०८३ १८:३२

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले समाज परिवर्तनका लागि क्रान्तिकारीहरू त्याग, तपस्या र बलिदानको भावनासहित निरन्तर अघि बढ्नुपर्ने बताएका छन्।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एकता घोषणा सभा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले मानिसको जीवन सीमित भए पनि राष्ट्र र जनताका लागि गरिने योगदान महत्वपूर्ण हुने बताए।

उनले भने, ‘क्रान्तिकारीहरू जतिबेला पनि त्याग र तपस्याका साथ उठिरहेका हुन्छन्, बलिदानका साथ उभिरहेका हुन्छन्। हाम्रो जीवन एउटा विन्दुमा सुरु हुन्छ र अर्को विन्दुमा सकिन्छ। हामी सधैं कोही पनि बाँच्दैनौं। तर जुन जीवन हामीले प्राप्त गरेका छौं, यो बडो अनमोल जीवन हो।’

आफ्नो जीवन राष्ट्र र जनताका लागि समर्पित गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको उल्लेख गर्दै खनालले पूर्ण रूपमा समर्पित हुन नसके पनि आफ्नो क्षमताअनुसार योगदान गर्न सबै तयार रहनुपर्ने बताए।

‘यो अनमोल जीवन हामी हाम्रो राष्ट्रका निम्ति, हाम्रो देशका जनताका निम्ति समर्पित गर्न सक्छौं कि सक्दैनौं ? पूरै समर्पित गर्न नसके पनि कति योगदान गर्न सक्छौं ? यो योगदान गर्नका निम्ति हामी सबै तयार रहनुपर्छ,’ उनले भने।

समाज परिवर्तनका लागि अध्ययन, चिन्तन र मननलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा खनालले जोड दिए। परिवर्तनको प्रवाहलाई अघि बढाउन प्राप्त निष्कर्षलाई व्यवहारमा लागू गर्न गम्भीरतापूर्वक लाग्नुपर्ने उनको भनाइ थियो।

‘यसरी तयार भयौं भने मात्रै समाज परिवर्तन हुँदै अगाडि बढ्छ। यो परिवर्तनको प्रवाहलाई अगाडि बढाउनका लागि हामी सबैले असाध्यै गम्भीर रूपमा अध्ययन गर्नुपर्छ, चिन्तन–मनन पनि गर्नुपर्छ,’ खनालले भने, ‘साथसाथै, अध्ययन गरेर प्राप्त गरेका निष्कर्षहरूलाई लागू गर्न पनि त्यत्तिकै गम्भीर भएर लाग्न सक्नुपर्छ।’

खनालले समाज रूपान्तरणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *