के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?
बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको वीभत्स बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका मुख्य आरोपी नाबालकको एउटा सोधपुछ भिडियो सामाजिक सञ्जालमा लिक भएपछि घटना अनुसन्धानले नयाँ र गम्भीर मोड लिएको छ।
पक्राउ परेका नाबालक आरोपीले हत्कडीसहित प्रहरीकै उपस्थितिमा ‘प्रदीप खड्का’ नाम गरेका व्यक्ति मुख्य योजनाकार रहेको र उनीहरूकै उक्साहटमा घटना घटेको दाबी गरेपछि प्रहरी प्रशासनमाथि दबाब र चासो बढेको छ।
सार्वजनिक भिडियोमा पक्राउ परेका किशोरले निर्धक्कसँग अपराध स्वीकार गर्दै आफू एक्लैले नभई सिमरा चोकका प्रदीप खड्काको योजना र प्रत्यक्ष संलग्नतामा बालिकालाई चकलेटको प्रलोभन देखाई अपहरण गरी जबरजस्ती करणी र हत्या गरेको बताएका छन्।
बालिका बेहोस भएपछि प्रदीप भागेको र त्यसपछि आफूले शव डोरीले बाँधेर तन्नामा बेरी चुकुल लगाएर छाडेको बालकको बयान छ। अस्पतालभित्र डाक्टर नभएको मौका पारी एक स्वास्थ्यकर्मीले मानसिक अवस्था जाँच गर्ने क्रममा सोधपुछ गरेको र सो क्रममा सादा पोसाक तथा हतियारधारी प्रहरीको रोहवरमै भिडियो खिचिएको खुलासा भएपछि प्रहरी प्रधान कार्यालयले समेत यसमा कडा चासो देखाएको छ।
संवेदनशील बयानको भिडियो सार्वजनिक हुन दिएको भन्दै लापरवाहीमा संलग्न प्रहरी अधिकारीहरूमाथि आन्तरिक कारबाहीको तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। यसअघि प्रहरीले यस घटनामा प्रदीप खड्काको नाम समावेश गरेको थिएन र दोस्रो आरोपीका रूपमा प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको थियो।
आरोपी बालकको मुखबाट ‘प्रदीप खड्का’ को नाम बाहिर आएपछि प्रहरीले ती व्यक्तिको वास्तविक पहिचान, ठेगाना र घटनामा उनको भूमिकाबारे खोजी तीव्र पारेको छ। बालकले दिएको बयान सत्य हो वा अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाराले सुक्ष्म अनुसन्धान अगाडि बढाएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment