नेकपाभित्रको आन्तरिक असन्तुष्टिले बागमती सरकारलाई बहुमत जुटाउनै मुस्किल
काठमाडौं। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत लिन गम्भीर संकट उत्पन्न भएको छ। प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर विवाद चर्किएपछि सोमबार बस्नुपर्ने प्रदेश सभा बैठकसमेत प्रभावित बन्न पुगेको छ।
मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए। तर, नेकपा संसदीय दलका उपनेता कृष्णशर्मा खनाल, गंगानारायण श्रेष्ठ लगायतका असन्तुष्ट सांसदहरू प्रदेश सभा बैठकमै उपस्थित भएनन्। तत्कालीन नेकपा माओवादी केन्द्र जसरी नै एकलौटी निर्णय गरेको, पूर्वमाओवादी पृष्ठभूमिका नेता मात्रै निर्णयकर्ता बनेको, दलभित्र पर्याप्त छलफल नगरिएको र शक्ति बाँडफाँटमा न्यायोचित व्यवहार नभएको भन्दै दलभित्र असन्तुष्टि व्याप्त छ। दलका नेता शालिकराम जम्कट्टेल स्वयंले असन्तुष्टिका कारण सांसदहरू बैठकमा उपस्थित नभएको कुरा स्वीकार गरेका छन्।
सोमबार दिउँसो १ बजेबाट बेलुका ८ बजेसम्मका लागि सारिएको प्रदेश सभा बैठक नेकपाभित्रको शक्ति संघर्ष र मन्त्री छनोटको किचलोका कारण अन्ततः बस्नै सकेन। त्यसपछि उपसभामुख अप्सरा चापागाईंले मंगलबार अपराह्न ४ बजेका लागि बैठक पुन: आह्वान गरेकी छन्। एमालेका सांसदहरूको भनाइ अनुसार नेकपाभित्र कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईं खुलेरै असन्तुष्ट बनेका छन्।
रिक्त सभामुख पद र नियुक्त हुन बाँकी एक मन्त्रीको पदका लागि नेकपाभित्र तीव्र हानथाप चलेको छ। यसका साथै राप्रपाभित्र देखिएको आन्तरिक विभाजनले पनि मुख्यमन्त्री थापालाई बहुमत जुटाउन थप कठिन बनाएको छ। राप्रपाका भुवनकुमार पाठकले जेनजी आन्दोलनका बेला राजीनामा दिएपछि बागमती प्रदेश सभा करिब एक वर्षदेखि सभामुख विहीन अवस्थामा छ। सत्ता गठबन्धनको पूर्वसहमति अनुसार सभामुख पद नेकपाको भागमा परेको छ, जसका लागि कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठ र रत्नप्रसाद ढकाललगायतका नेताहरू दाबेदार छन्। तर नेता जम्कट्टेलले विनाछलफल जिम्मेवारी बाँडेको भन्दै नेताहरू रुष्ट छन्।
गत भदौ ४ गते गठित किरण थापा नेतृत्वको सरकारमा नेकपाले पाएको दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई पठाइसकिएको छ। अब थप एक मन्त्री पठाउन बाँकी रहेकोमा पूर्वमाओवादीबाट पौडेल मन्त्री भइसकेकाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका रमा आले मगरलाई मन्त्री बनाउनुपर्ने दबाबमा नेता जम्कट्टेल छन्। मन्त्रीका आकांक्षी धेरै हुँदा र भागबण्डा चित्तबुझ्दो नहुँदा पार्टीभित्र कलह बढेको हो।
त्यस्तै, पूर्वमाओवादी पृष्ठभूमिका सांसद प्रेमबहादुर पुलामी पनि पार्टीबाट पटक-पटक अन्यायमा परेको भन्दै दुःखी छन्। दुई पटक प्रदेश सभा सदस्य निर्वाचित भए पनि उनी संलग्न दल करिब सात वर्ष सत्तामा रहँदा समेत कहिल्यै मन्त्री बन्न पाएनन्। यद्यपि, उनी पार्टीको निर्णय कार्यान्वयनमा भने प्रतिबद्ध रहेको बताउँछन्।
एक सय चार सदस्यीय बागमती प्रदेश सभामा सरकारको पक्षमा बहुमत पुर्याउन ५३ सांसदको समर्थन अनिवार्य आवश्यक पर्छ। तर सत्तारुढ दलभित्रकै आन्तरिक विवाद र समर्थन दिएको राप्रपाको आन्तरिक संकटले मुख्यमन्त्री किरण थापा मगरको राजनीतिक भविष्य र विश्वासको मत अहिले अन्योलमा परेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment