भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा थप तीन दिनका लागि विस्तार गरेको छ।
यसअघि दुई दिनका लागि उपलब्ध गराइएको उक्त सुविधा अब भदौ १२, १३ र १४ गतेसम्म निरन्तर रहने नेपाल टेलिकमले जनाएको छ। सेवाअन्तर्गत दुई दिन निःशुल्क भ्वाइस कल तथा प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराइनेछ।
बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जानसमेत टेलिकमले एसएमएसमार्फत आग्रह गरेको थियो।
बाढीका कारण आफ्ना विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मतसम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको टेलिकमले जनाएको छ।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकता दिइएको टेलिकमको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment