तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम
रसुवा। चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन्।
तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल आसपास बनेको उक्त ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको हो।
तिब्बततर्फबाट बगेर आउने छोचेन खोला र पुरेपु त्साङ्पो नदी सोझै भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रहरूमा फेरि अर्को भीषण बाढी आउन सक्ने उच्च जोखिम बढेको छ।
यसअघि चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ‘ग्लोबल टाइम्स’ ले प्रकाशित गरेको प्रतिवेदन अनुसार हिमपहिरोका कारण थुनिएको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो।
ताल फुटेको खबर प्राप्तभएसँगै स्थानीय प्रशासनले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायत नदी किनारका सम्पूर्ण बासिन्दाहरूलाई तत्कालै नदी नजिक नजान र अग्लो तथा सुरक्षित स्थानतर्फ जान विशेष अपिल गरेको छ।
भदौ १० गते आएको बाढीले पहिले नै ठूलो जनधनको क्षति पुर्याइसकेको अवस्थामा थुनिएको ताल फुटेपछि प्रहरी र स्थानीय प्रशासनले तटीय बस्तीहरूमा माइकिङ गर्दै उच्च सतर्कता अपनाउन र सुरक्षित रहन ताकेता गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment