स्वास्थ्यकर्मीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन र उच्च सतर्क रहन मन्त्रालयको निर्देशन

डिसी नेपाल
१२ भदौ २०८३ १२:४९

काठमाडौँ। रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको आपतकालीन परिस्थितिलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन र काज स्वीकृत नगर्न सख्त निर्देशन दिएको छ।

मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै बाढी र पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, स्वास्थ्य उपचार र राहत कार्यलाई थप प्रभावकारी बनाउन आफ्ना मातहतका कर्मचारीहरूलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन भनेको छ।

विपद् व्यवस्थापन र उपचार सेवा प्रभावित नहोस् भन्नका लागि विशेष कारण र अत्यावश्यक कामबाहेक कुनै पनि कर्मचारीको बिदा तथा काज स्वीकृत नगर्न र नगराउन निर्देशन दिइएको छ।

खोज, उद्धार तथा उपचार सेवासँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन तथा जिम्मेवार पदाधिकारीहरूलाई सार्वजनिक बिदाका दिनमा समेत अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन भनिएको छ।

बाढीपहिरोमा परी घाइते भएका व्यक्तिहरूको शीघ्र उपचारका लागि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सार्वजनिक बिदाका दिनमा समेत नियमित तथा आपतकालीन उपचार सेवाका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

अन्य सम्पूर्ण स्वास्थ्य कर्मचारीहरूलाई पनि जुनसुकै समयमा आवश्यक सेवा प्रवाहका लागि खटिन सक्ने गरी उच्च सतर्क अवस्थामा रहन मन्त्रालयले निर्देश गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *