विपद्का बेला सरकारलाई साथ दिन्छौं, कमजोरी औंल्याउनु पनि हाम्रो कर्तव्य हो: गगन थापा
काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन्। साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमीकमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि काङ्ग्रेसको जिम्मेवारी रहेको उनले स्पष्ट पारे।
भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा काङ्ग्रेसले गरिरहेको काम र आगामी योजनाबारे आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति थापाले विपद्को समयमा सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु काङ्ग्रेसको मुख्य कर्तव्य भएको बताए।
“नेपाली काङ्ग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ। हामीले पूर्ण रूपमा साथ दिने हाम्रो कर्तव्य हो। हामी गर्छौँ, गरिरहेका छौँ र थप सहयोग पनि गर्छौँ,” थापाले भने।
सरकारलाई सहयोग गर्नुका साथै प्रमुख प्रतिपक्षी दलका रूपमा सरकार कहाँ चुकेको छ भन्ने विषय औँल्याउनु पनि आफ्नै जिम्मेवारी रहेको उनको भनाइ छ।
“सरकार कहाँनिर चुकेको छ, चुकेको ठाउँ बताउने पनि हाम्रो कर्तव्य हो। कमीकमजोरी कहाँनिर भएको छ, देखाउने र कहाँनिर सुधार गर्नुपर्ने हो, त्यो बताउने पनि हाम्रै दायित्व हो,” उनले थपे।
सरकारका कमजोरीबारे खबरदारी नगरे एकोहोरो ढङ्गले काम हुने र विपद्मा परेका नागरिकका वास्तविक समस्या सरकारसम्म नपुग्ने उनले बताए। “ती कुराहरू बताइएन भने फेरि एकमन ढङ्गले जान्छ। भुइँमान्छेका वास्तविक कुराहरू सरकारसम्म पुग्दैनन्,” थापाले भने।
थापाले काङ्ग्रेसले यसअघि सरकारसमक्ष बुझाएको नौबुँदे ध्यानाकर्षण पत्रबारे पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए। विपद्को समयमा सरकारले ती नौवटै बुँदालाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।
विपद् व्यवस्थापनमा सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने थापाले बताए। प्रदेश तथा स्थानीय सरकारले काम गरिरहेको भए पनि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा उनले जोड दिए।
“विपद्को यो घडीमा सङ्घीय सरकार जत्तिकै महत्त्वपूर्ण भूमिका प्रदेश सरकार र स्थानीय सरकारले पनि निर्वाह गर्नुपर्छ। उनीहरूले गरिरहेका पनि छन्, तर एकापसमा समन्वय गरेर काम गरियो भने अझ प्रभावकारी परिणाम आउँछ,” उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment