कप्तान सन्दीप लामिछानेद्वारा १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा

डिसी नेपाल
१४ भदौ २०८३ १४:०५

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितहरूको राहत एवम् उद्धारका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन्।

मलेसियामा सञ्चालन हुन लागिरहेको एसिएन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा नेपालको नेतृत्व गर्न तयारी गरिरहेका कप्तान लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त सहयोगको घोषणा गरेका हुन्।

सन्दीपले नेपाल क्रिकेट सङ्घ (क्यान) बाट प्राप्त गर्ने आफ्नो एक महिनाको तलब ‘असल काममा सानो योगदानस्वरूप’ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्।

एसीसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ तथा नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा समेत उनले गरेका छन्।

विकेट र बाउन्ड्रीबापत सङ्कलन हुने उक्त सहयोग रकम बाढीबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले उल्लेख गरेका छन्।

देश विपद्को कठिन स्थितिबाट गुजरिरहेका बेला टोलीको मन नेपालमै रहेको उल्लेख गर्दै सन्दीपले मैदानमा आफ्नो शतप्रतिशत प्रदर्शन दिने बताएका छन्। उनले लेखेका छन्, ‘यस्तो कठिन परिस्थितिका बाबजुद पनि हामी चुनौतीका लागि तयार छौँ र मैदानमा आफ्नो सबै क्षमता लगाउनेछौँ। नतिजाभन्दा पनि हाम्रो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उनीहरूलाई उत्साहित हुने एउटा कारण दिन सकोस् भन्ने हाम्रो चाहना हो। हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि हो।’

तेस्रो संस्करणको एसीसी प्रिमियर कप आज (आइतबार) देखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाली टोली उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने स्पष्ट लक्ष्यसहित मैदानमा उत्रिँदैछ। नेपालले भोलि (सोमबार) बहराइनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *