एसीसी प्रिमियर कप: सन्दीप लामिछानेको ५ विकेटसँगै बहराइन ८७ रनमा अलआउट
काठमाडौँ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा जारी तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमै सीमित तुल्याएको छ।
नेपालका कप्तान सन्दीप लामिछानेको उत्कृष्ट स्पिन बलिङ सामर्थ्यसामु बहराइनको इनिङ्स ध्वस्त भएपछि नेपालले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको हो।
नेपालका कप्तान सन्दीप लामिछानेले आफ्नो १० ओभरको स्पेलमा ४ मेडन राख्दै मात्र १४ रन दिएर ५ विकेट लिए। त्यस्तै, ललित राजवंशीले २ विकेट तथा करण केसीले २ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो। बहराइनका लागि फियाज अहमदले १५ रन र मुहम्मद वसिमले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन्।
नेपाली टोली केही बेरमा ८८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रिँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment