भीषण बाढी निम्त्याउने सुरुवाती हिमपहिरो झुक्किएर ड्रोन भिडियोमा कैद, भिडियो सार्वजनिक

डिसी नेपाल
१५ भदौ २०८३ ११:५५

काठमाडौं । गएको हप्ता नेपाल र तिब्बतमा भीषण बाढी निम्त्याई सयौँ मानिसको ज्यान लिने गरी भएको हिमनदी (ग्लेशियर) विस्फोटको दृश्य ड्रोन भिडियोमा अन्जानवश कैद भएको छ।

एक चिनियाँ फोटोग्राफरले खिचेको उक्त भिडियोमा समुद्र सतहबाट ७,२०० मिटरभन्दा अग्लो लाङटाङ लिरुङ हिमालको चुचुरो नजिकैको ढलानबाट चट्टान र हिउँको विशाल ढिस्को फुटेर खसेको देखिन्छ। त्यसपछि पहाडबाट धुलोको ठूलो बादल उडेको देखिएको थियो। ती फोटोग्राफरले खिचेको भिडियो फुटेज सार्वजनिक भए पनि उनको आधिकारिक पहिचान खुलाइएको छैन ।

हिउँ, चट्टान, लेदो र भग्नावशेषको त्यो भीषण बहाव करिब १,२०० मिटर तल उपत्यकामा बजारिन पुगेको थियो। जसका कारण आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदीमा भीषण रूप लिँदा गत अगस्ट २६ मा नेपालमा ९०३ जना र तिब्बतमा १६ जनाको मृत्यु भएको थियो।

हेर्नुहोस् भिडियो –

अझै पनि मुख्य गरी नेपालमा गरी ४,५०० भन्दा बढी मानिस बेपत्ता छन्। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले ‘अकल्पनीय र हृदयविदारक’ विपद्को सामना गरिरहेको र अधिकारीहरूलाई विनाशकारी बाढीको पूर्ण विवरण सङ्कलन गर्न धौ-धौ परिरहेको बताएका छन्।

‘हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ,’ आइतबार ढिलो गरी सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्।

‘रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र पूर्वाधारमा भएको क्षतिको पूर्ण विवरण संकलन गर्न अत्यन्त कठिन भएको छ,’ उनले थपे।

‘प्रतिकूल मौसम, कठिन भूगोल र निरन्तरको जोखिमका कारण यो कार्य चुनौतीपूर्ण रहे तापनि नागरिकको जीवन रक्षाका लागि हामी दृढताका साथ अगाडि बढिरहेका छौँ,’ गत मार्चको निर्वाचनमा सफलता हासिल गरेका शाहले भनेका छन्।

‘हाम्रो एकता र सामूहिक प्रयासबाट हामी यस सङ्कटलाई मात दिन सफल हुनेछौँ,’ उनले भने।

यसअघि सन् २०२१ मा भारतको उत्तराखण्डस्थित रोन्टी पिकबाट यसरी नै चट्टान र हिउँको पहिरो खस्दा करिब ९५ करोड घनमिटर (जसमा ८० प्रतिशत चट्टान र २० प्रतिशत हिउँ थियो) क्षेत्र प्रभावित भएको थियो। जसले एउटा जलविद्युत् आयोजना ध्वस्त पार्नुका साथै आयोजनाका कामदारसहित करिब २०० जनाको मृत्यु भएको वा बेपत्ता भएका थिए।

त्यस्तै, सन् २०२३ मा ‘पर्माफ्रोस्ट’ (जमेको माटो र हिउँ) पग्लेपछि सिक्किमको ‘साउथ ल्होनाक’ तालमा चट्टान खसेर ठूलो तरङ्ग उत्पन्न हुँदा हिमतालको प्राकृतिक बाँध (मोरेन) फुटेको थियो। सो हिमताल विस्फोटनबाट १३ अर्ब ग्यालनभन्दा बढी पानी तल बगेर जाँदा कैयौँ बाँधहरू, २५,००० भन्दा बढी भवनहरू र ३० भन्दा बढी पुलहरूमा क्षति पुगेको थियो।

सन् २०२५ मा पनि स्विस एल्प्सको बर्च ग्लेशियरबाट करिब ३३ करोड ५० लाख घनमिटर चट्टान र हिउँ खसेर ‘ब्लाटेन’ गाउँको अधिकांश भाग पुरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *