प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता: बाढी प्रभावितको उद्धार र पुनःस्थापनाबारे छलफल
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको हो।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी, प्रभावित नागरिकको उद्धार तथा विस्थापितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कामलाई तीव्रता दिनुपर्ने विषयमा भेटमा विशेष छलफल भएको थियो।
त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक संरचनाको पुनःस्थापना र प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको बताइएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई तत्काल आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको बताएका थिए।
रास्वपा सभापति लामिछानेले पनि प्रभावित क्षेत्रको वास्तविक अवस्थालाई ध्यानमा राख्दै खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने र राहत वितरणमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको बताइएको छ।
भेटमा बाढीबाट भएको क्षतिको मूल्यांकन, तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा प्रभावित नागरिकको सुरक्षित पुनर्वासका विषयमा समेत छलफल भएको थियो।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सरकारी संयन्त्रलाई परिचालन गरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment