उद्धार र पुनर्निर्माणबारे कांग्रेसको इन्जिनियरहरूसँग छलफल, विज्ञको प्रयोगमा सरकारबाट भेदभावको आरोप

डिसी नेपाल
१५ भदौ २०८३ २१:१८

काठमाडौं। नेपाली कांग्रेसले भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा भौतिक पुनर्निर्माणका विषयमा वरिष्ठ इन्जिनियर, योजनाविद्, प्राज्ञिक तथा प्राविधिक विज्ञसँग छलफल गरेको छ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको संयोजनमा ललितपुरस्थित केन्द्रीय कार्यालयमा भएको छलफलमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइ, प्राविधिक सहयोग तथा स्रोतसाधनको परिचालनबारे छलफल भएको हो।

छलफलमा अन्तर्राष्ट्रिय तथा स्थापित प्राविधिक विज्ञको सहयोग समयमै लिन नसकिएको, सुरक्षा निकायमा मात्र निर्भर हुँदा उद्धार प्रभावकारी हुन नसकेको विषय उठाइएको थियो। सरकारी निकाय, सुरक्षा निकाय, जलविद्युत् आयोजना, स्थानीय तह तथा प्राविधिक विज्ञबीच आवश्यक समन्वय हुन नसकेको पनि सहभागीहरूले बताएका थिए।

त्यस्तै, प्रभावित नागरिकसम्म पर्याप्त राहत पुग्न नसकेको, स्थानीय तह तथा सरोकारवालासँग प्रभावकारी संवाद र सूचना आदानप्रदान हुन नसकेको विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।

छलफलपछि कांग्रेसले दक्ष जनशक्ति र आवश्यक उपकरण तत्काल परिचालन गरी उद्धार कार्य तीव्र बनाउन, विज्ञ परिचालनमा कुनै भेदभाव नगर्न तथा स्थानीय सरकारलाई व्यापक रूपमा परिचालन गर्न सरकारलाई सुझाव दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *