केरुङ जोड्ने चिनियाँ राष्ट्रिय राजमार्ग खुलाउने प्रयास, १६ जनाको मृत्यु र ५४६ बेपत्ता
काठमाडाैं। नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएर आएको बाढीपहिरोका कारण क्षतिग्रस्त भएको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि चिनियाँ प्राविधिक तथा उद्धार टोलीले प्रयास तीव्र पारेका छन्।
क्षेत्रीय सरकारलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। बाढीले बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ का विभिन्न खण्डमा गम्भीर क्षति पुर्याएको छ।
क्षतिग्रस्त राजमार्ग सफाइ तथा निर्माणका लागि ठूलो सङ्ख्यामा जनशक्ति र उपकरण परिचालन गरिएको छ। केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू ढुङ्गा भरेर ग्याबियन बक्स तयार पार्न खटिएका छन्।
तिब्बत इन्जिनियरिङ मुख्यालयका कमान्डर लिउ मिङयुआनका अनुसार अहिले राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्ने, स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स तयार पार्ने र ढुङ्गा उत्खनन गरी भण्डारण गर्ने काम भइरहेको छ। नदीको तीव्र बहाव भएका जटिल सडक खण्डमा यी ग्याबियन बक्स र ठुला ढुङ्गाहरू राखेर सडकको दिगो संरचना बनाइनेछ।
उद्धार र निर्माणका क्रममा थप जोखिम उत्पन्न भएमा उद्धारकर्मीको सुरक्षाका लागि चाइना एनेङ कन्स्ट्रक्सन ग्रुपले पहिलोपटक डोरी–भर्याङसहितका आकस्मिक निकास मार्गहरू तयार गरेको छ। सोमबार बिहानसम्म करिब १८० मिटर लम्बाइका तीनवटा डोरी–भर्याङ जडान गरिसकिएको छ, जसले अचानक बाढी वा पहिरो आउँदा उद्धारकर्मीलाई सुरक्षित आश्रयस्थलसम्म पुग्न मद्दत गर्नेछ।
राजमार्ग मर्मतका लागि चाइना एनेङले १५८ जना आपत्कालीन उद्धारकर्मीका साथै एक्स्काभेटर र लोडरलगायत २८ वटा ठुला उपकरण परिचालन गरी २४ सै घण्टा काम गरिरहेको छ। टोलीले सोमबार दिउँसोसम्म जी–२१६ राजमार्गलाई बन्दरगाहबाट १.१ किलोमिटरसम्मको दूरीमा पुनः सञ्चालनमा ल्याइसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment