प्रतिनिधिसभा बैठक बस्दै: भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गरिने
काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारमा बस्दैछ।
आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सभामुख अर्यालले बाढीका कारण भएको व्यापक जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्ने कार्यक्रम छ।
संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्ताव अनुसार, गत भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
बैठकले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नेछ। साथै, घटनामा घरबारविहीन भएकाहरूको शीघ्र व्यवस्थापन तथा घाइतेहरूको उपचारको कामना गर्ने तयारी गरिएको छ।
यसैबीच, आजै दुई संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। बिहान ९:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको असरबारे छलफल हुनेछ।
त्यसैगरी, अपराह्न १२:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment