भोटेकोशी बाढी: पोखरा ल्याइएका २१ शवको सनाखत, पहिचान नभएका ७६ शवको सुरक्षित व्यवस्थापन
कास्की। रसुवाको भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षणका लागि पोखरा ल्याइएकामध्ये मंगलबार २१ वटा शवको सनाखत गरी परिवारलाई बुझाइएको छ। कूल १०२ वटा शव परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएको थियो।
पहिचान हुन नसकेका ७६ वटा शवलाई भने पोखरा-१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलिने र महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। सबै शवको डिएनए नमूना सुरक्षित राखिएकाले पछि परिवारसँग डिएनए मिलेको अवस्थामा हस्तान्तरण गर्न सकिने प्रशासनले जनाएको छ।
अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच वटा शव रहेका छन्। ती शवमा एकभन्दा बढी परिवारले तस्बिरका आधारमा दाबी गरेकाले थप परीक्षण हुन बाँकी छ।
बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकाअन्तर्गत धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ वटा शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवहरूलाई गहिरो खाडल खनेर हावा नछिर्ने प्लास्टिकको झोलामा संकेत नम्बरसहित माटोले पुरिएको छ। भविष्यमा पहिचान सहज होस् भन्नका लागि शव पुरिएको स्थानमा गमला राखेर सङ्केत नम्बरको ‘स्ट्यान्ड’ समेत बनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment