भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना

डिसी नेपाल
१७ भदौ २०८३ ९:२४

काठमाडौँ। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा दिउँसोपछि मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ। प्रभावित क्षेत्रमा अझै केही दिन वर्षा हुने पूर्वानुमान रहेकाले खोज तथा उद्धारसँगै राहत र व्यवस्थापनमा थप चुनौती आउन सक्ने बताइएको छ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६० दशमलव २ मिलिमिटर मापन भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने विभागले जनाएको छ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ भने तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

वर्षाका कारण उद्धारमा थप चुनौती

यसैबीच, वर्षाका कारण भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा थप चुनौती उत्पन्न भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि उद्धार तथा खोजी कार्य प्रभावित भएको छ। पानी तान्न प्रयोग गरिएको पम्पसमेत डुबेपछि सुरक्षाकर्मीले पम्प बाहिर निकालेर पुनः पानी तान्ने प्रयास गरिरहेका छन्।

“बिहानैदेखि खोजी सुरु गरिएको छ। रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्,” उप्रेतीले भने।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले खोज, उद्धार, राहत तथा अन्य व्यवस्थापनका काममा थप कठिनाइ आउन सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा मौसमको अवस्था निरन्तर निगरानीमा राखिएको र खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य टोलीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *