५ उद्धार कुकुर र अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली टोली काठमाडौँ आइपुग्यो

डिसी नेपाल
१७ भदौ २०८३ १०:३७

काठमाडौँ। नेपालमा आएको भीषण बाढी र पहिरोपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाको विदेश आपत्कालीन उद्धार टोली (केडीआरटी) आज बिहान काठमाडौँ आइपुगेको छ।

केडिआरटी का ४४ सदस्यहरूलाई लिएर दक्षिण कोरियाली वायुसेनाको बहुउद्देश्यीय हवाई इन्धन भर्ने विमान ‘सिग्नस’ (केसी-३३०) बिहान ६:२७ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका विकास सहयोग विभागका महानिर्देशक ली ग्यु-होको नेतृत्वमा आएको टोलीमा परराष्ट्र मन्त्रालयका ३, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का ४ र अग्नि तथा विपद् व्यवस्थापन निकायका ३७ जना गरी कुल ४४ जना विज्ञहरू सहभागी छन्।

टोलीले ५ वटा विशेष तालिमप्राप्त उद्धार कुकुरका साथै उच्च रिजोलुसनको तस्बिर एवम् भिडियो खिच्ने ड्रोन, भग्नावशेषमा पुरिएका मानिसको आवाज र भिडियो पत्ता लगाउने उपकरण, थर्मल इमेजिङ डिटेक्टर लगायतका आधुनिक उद्धार सामाग्रीहरू ल्याएको छ।

भदौ १० गते आएको विनाशकारी बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियाली नागरिकहरू अझै सम्पर्कविहीन छन्।

नेपाल सरकारको आधिकारिक आग्रहमा आएको यो टोलीले स्थानीय अधिकारीहरूसँग समन्वय गरी करिब १० दिन प्रभावित क्षेत्र (मुख्यतः रसुवा) मा खोज तथा उद्धार कार्य चलाउनेछ। आवश्यकता अनुसार यो समय थपिन सक्ने जनाइएको छ।

यसअघि दक्षिण कोरियाले भदौ २७ र २९ गते (अगस्ट २७ र २९) गरी २० सदस्यीय संयुक्त द्रुत प्रतिक्रिया टोली पठाएको थियो। सो टोलीले हेलिकप्टर, ड्रोन र पैदल मार्गबाट खोजी जारी राखे पनि नयाँ प्रगति हुन सकेको थिएन। केडिआरटीको आगमनसँगै अब प्राविधिक र विज्ञतासहितको खोजी कार्यले गति लिने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *