विपद् प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तीव्र: हवाई माध्यमबाट ३,८९१ को उद्धार, टनेल खन्ने कार्य जारी

डिसी नेपाल
१७ भदौ २०८३ १०:४०

काठमाडौं। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार, राहत एवम् स्वास्थ्य सेवा प्रवाहलाई थप तीव्र बनाएको छ।

नेपाली सेनाले दिएको जानकारी अनुसार मङ्गलवार साँझ ७ बजेसम्म हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको सफलताका साथ उद्धार गरिएको छ। योसँगै हालसम्म हवाई माध्यमबाट मात्रै २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ८९१ जनाको उद्धार गरिसकिएको छ।

उद्धारका साथसाथै प्रभावित क्षेत्रमा खाद्य तथा राहत सामग्री पुर्‍याउने कामलाई पनि प्राथमिकता दिइएको छ। सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली-३ए लगायतका क्षेत्रहरूमा हवाई माध्यमबाट २ हजार ५ सय किलोग्राम राहत सामग्री ढुवानी गरी वितरण गरिएको छ।

यसैबिच, बाढी र पहिरोका कारण जोखिममा परेका जलविद्युत् आयोजनाहरूका सुरुङभित्र अड्किएकाहरूको खोजी तथा उद्धार कार्यमा भने ठूलो जटिलता थपिएको छ।

चिलिमे हाइड्रोपावरमा विदेशी विशेषज्ञहरूसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरे पनि त्यसभन्दा अगाडि भिरालो भूभाग सुरु भएको र सुरुङ पूर्ण रूपमा माटो तथा गेग्रानले पुरिएको अवस्थामा फेला परेको छ।

त्यस्तै, अपर त्रिशूली-१ को हाँकूमा उद्धार टोली करिब १६० मिटर भित्रसम्म पुगे पनि सुरुङ पूर्ण रूपमा ठप्प वा टालिएको अवस्थामा भेटिएको छ। अर्कातर्फ, त्रिशूली-३ए मा टनेल हेडको पहिचान गरी तीन वटा एक्स्काभेटरको प्रयोगमार्फत माटो हटाउने काम निरन्तर भइरहेको छ।

कम्प्रेसर र रक ब्रेकर प्रयोग गरेर इनलेट टनेलमा बनाइएको प्वालबाट अत्यधिक पानी बग्न थालेपछि उक्त बाटोबाट प्रवेश गर्न असम्भव भएकाले अहिले आउटलेटतर्फबाट पुनः प्वाल पार्ने काम अघि बढाइएको छ।

विषम परिस्थिति र जटिल भौगोलिक बनावटका बाबजुद पनि नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *