बाढीको त्रास र क्षतविक्षत संरचना: नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द
काठमाडौं। रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न पालिकामा रहेका शैक्षिक संस्थाहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्।
बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रमा पनि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ।
बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावकसमेत बेपत्ता रहेको, विद्यालयका संरचनासँगै सडक र पुलमा व्यापक क्षति पुगेकाले तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दैनिक जनजीवन केही सामान्य भई नदी वारपार गर्ने अवस्था बनेपछि मात्र विद्यालय सञ्चालनमा आउनेछन्। बाढीको पूर्वसूचना प्राप्त भए पनि त्यसको विनाशकारी रूप अनुमानभन्दा बाहिर रहेकाले क्षति ठूलो भएको विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाले बताए।
केही विद्यालयले बेलैमा सतर्कता अपनाएकाले ठूलो मानवीय दुर्घटना टरेको उल्लेख गर्दै उनले स्थिति केही सहज भएपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाइने जानकारी दिए।
त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकाभित्र सञ्चालित ८३ वटा विद्यालयमध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण भौतिक संरचनाहरू बाढीले ध्वस्त पारेकाले तत्काल सोही स्थानमा विद्यालय चलाउन असम्भव छ।
त्यसैगरी उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भई एउटा ब्लक मात्र बाँकी रहेको छ। चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार र आसपासका क्षेत्रमा पनि क्षति पुगेको छ। यसबाहेक रामचन्द्र आविको एउटा र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बससमेत बाढीले बगाएको छ।
किस्पाङ गाउँपालिकामा विद्यालय भवनहरूमा प्रत्यक्ष क्षति नपुगेको भए पनि बाढीबाट विस्थापित भएका नागरिकहरूलाई राख्नका लागि दुईवटा विद्यालयलाई होल्डिङ सेन्टर बनाइएको छ।
त्यसैगरी बेलकोटगढी नगरपालिकामा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ, जहाँको शिलादेवी मावि बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने महादेव माविमा पनि असर परेको छ।
नेपाल प्रहरीका अनुसार भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण हालसम्म विभिन्न जिल्लाहरूबाट १ हजार १ सय २७ भन्दा बढी शवहरू फेला परिसकेका छन्, जसमध्ये नुवाकोटमा मात्रै १५५ जनाको शव फेला परेको छ।
रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी लगायतका क्षेत्रमा ४ हजार ८ सयभन्दा बढी मानिसहरू अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी छ। बाढीले पुर्याएको यो अभूतपूर्व क्षतिका कारण प्रभावित क्षेत्रका बालबालिकाहरूको शिक्षा र भविष्य संकटमा परेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment