भोटेकोशी बाढीबाट पर्यटन पूर्वाधारमा गम्भीर क्षति, पुनरुत्थान चुनौतीपूर्ण बन्ने संकेत

डिसी नेपाल
१७ भदौ २०८३ १३:४८

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, सिन्धुपाल्चोक लगायतका क्षेत्रका पर्यटकीय पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन व्यवसाय पुनः सामान्य अवस्थामा फर्काउन चुनौतीपूर्ण हुने देखिएको छ।

बाढीले होटल, सवारीसाधन, ऐतिहासिक सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गहरू ध्वस्त पारेपछि पर्यटन पुनरुत्थानका लागि सरकारले पुनर्निर्माण र पुनर्स्थापनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता खड्किएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले प्रारम्भिक विवरण अनुसार बाढीबाट १४२ वटा होटल, ५७ वटा साना होटल र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधनमा क्षति पुगेको जानकारी दिए।

यसैगरी २७ वटा सम्पदामा क्षति पुगेको र लाङटाङ तथा गोसाइँकुण्डलगायतका प्रमुख पदमार्गहरू समेत नराम्ररी प्रभावित भएको मन्त्री पौडेलले बताए। अहिले प्राप्त तथ्याङ्क प्रारम्भिक भएकाले क्षतिको वास्तविक विवरण थप अध्ययनपछि मात्र यकिन हुने र दुःख तथा पीडाको गहनता सबैले महसुस गरेको उनको भनाइ थियो।

बाढीबाट पर्यटकीय पूर्वाधारमा पुगेको क्षतिले तत्कालीन पर्यटन गतिविधि मात्र नभई स्थानीयस्तरमा पर्यटनमा निर्भर रोजगारी र आम्दानीमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ।

विशेष गरी लाङटाङ र गोसाइँकुण्डजस्ता महत्त्वपूर्ण पर्यटकीय गन्तव्यतर्फ जाने पदमार्गहरू अवरुद्ध हुनुले आगामी पर्यटकीय सिजनमा पर्यटक आवागमन प्रभावित हुने जोखिम बढाएको छ।

पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधारहरू तत्काल पुनर्निर्माण गर्न नसकिए प्रभावित क्षेत्रका व्यवसायी र स्थानीयले लामो समयसम्म आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।

हाल सरकारले उद्धार तथा राहत कार्यलाई पहिलो प्राथमिकतामा राखेर गृह मन्त्रालय लगायतका विषयगत मन्त्रालयहरूसँगको समन्वयमा काम अघि बढाएको मन्त्री पौडेलले जानकारी दिए।

राहत र उद्धारपछि प्रभावित पर्यटन पूर्वाधारको विस्तृत क्षति मूल्यांकन, पुनर्निर्माणको लागत निर्धारण र व्यवसायीलाई आवश्यक राहत एवम् पुनःस्थापनाका कार्यक्रम ल्याउनु पर्ने दायित्व सरकारसामु छ। यसका लागि संघीय सरकार, स्थानीय तह र निजी क्षेत्रबिच एकीकृत समन्वय आवश्यक देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *