माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना : ५५७ जना अझै बेपत्ता, ११५ जना सुरुङभित्रै फसेको आशंका
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन रहेका छन्।
आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण आयोजनामा पुगेको अकल्पनीय क्षति र बेपत्ता जनशक्तिको विवरण सार्वजनिक गरेको हो।
आयोजना स्थलमा बाढी आउँदा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेकोमा हालसम्म ८७६ जनाको जीवितै उद्धार गरिएको छ। बाँकी ५५७ जना अझै सम्पर्कमा आएका छैनन्। बेपत्ता हुनेहरूमा मुख्य सिभिल सहायक ठेकेदार कम्पनी ‘पावर चाइना’का ३८५ जना, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल ठेकेदार ‘एन्ड्रिज हाइड्रो’का ९४ जना, मुख्य निर्माण ठेकेदार ‘डुसान’का ५६ जना, प्रवर्द्धक कम्पनीका १५ जना र परामर्शदाता ‘जेड कन्सल्ट’का ७ जना रहेका छन्। बेपत्तामध्ये करिब ११५ जना आयोजनाको हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्रै फसेको आशंका गरिएको छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन यो आयोजना २०८४ साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, भीषण बाढीले निर्माण सम्पन्न हुन लागेको बाँध (हेडवक्र्स), कार्यालय परिसर र आवासीय संरचनाहरू पूर्ण रूपमा बगाएर ध्वस्त बनाएको छ। बाढी आउनुअघि पूर्वसूचना जारी गरिए तापनि अत्यन्त छोटो समयमा ठूलो परिमाणमा लेदो र बाढी आयोजना स्थलमा ओर्लिएकाले धेरैजसो श्रमिकहरू सुरक्षित स्थानतर्फ भाग्न पाएका थिएनन्।
विकट भौगोलिक अवस्था, थप पहिरोको निरन्तर जोखिम, सुरुङभित्रको प्राविधिक जटिलता र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको कम्पनीले जनाएको छ। यद्यपि, राज्यका सुरक्षा निकाय र अन्य प्राविधिक टोलीसँगको समन्वयमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको कम्पनीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment