भोटेकोशी बाढीमा हराएका मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

डिसी नेपाल
१८ भदौ २०८३ ८:४३

जनकपुरधाम। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । अझै १६२ जना सम्पर्कविहीन रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको थियो । तीमध्ये ३० जना टेलिफोनमार्फत परिवार तथा आफन्तको सम्पर्कमा आएका हुन् ।

सम्पर्कमा आउनेमा पर्साको वीरगञ्ज महानगरपालिकामा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी तथा ईशनाथ नगरपालिका–४ का सेख मजिद सम्पर्कमा आएका छन् । चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, विपीनकुमार मण्डल र श्रीकेश यादव पनि सम्पर्कमा आएका छन् । लोहारपट्टीका युवराज पाण्डे, औरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिवास नगरपालिकाका विकास भारती पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

यस्तै, धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार तथा जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा र विक्रम ठाकुर सम्पर्कमा आएका छन् । जनकपुरधाम–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र सप्तरीको कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोन सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म सप्तरीका ४८, पर्साका ३८, रौतहटका १३, बाराका २३, सर्लाहीका १८, महोत्तरीका १०, धनुषाका सात र सिरहाका १२ जना अझै सम्पर्कविहीन छन् ।

भोटेकोशी बाढी तथा त्यसपछि गएको पहिरोका कारण परिवार र आफन्तसँग सम्पर्क हुन नसकेका नागरिकबारे विभिन्न जिल्लाबाट सूचना आउन थालेपछि प्रहरीले विवरण सङ्कलन तथा खोजी कार्यलाई तीव्रता दिएको छ ।

प्रहरी प्रवक्ता ढकालका अनुसार बाढी तथा पहिरोपछि आफन्तको सम्पर्कमा नरहेका व्यक्तिको विवरण सङ्कलन गरी उनीहरूको अवस्थाबारे खोजी भइरहेको छ । सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *