चिलिमे सुरुङ उद्धारस्थलमा भारतीय राजदूत, नेपाली सेना र भारतीय टोलीको संयुक्त प्रयासको प्रशंसा

डिसी नेपाल
१८ भदौ २०८३ १७:५९

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढीप्रभावित क्षेत्र रसुवाको स्याफ्रुबेँसी पुगेका छन्। भारतबाट आएका सुरुङ (टनेल) विज्ञ टोलीले जलविद्युत् आयोजनाको टनेलभित्र गरिरहेको खोजी तथा उद्धार कार्यको स्थलगत अवलोकन गर्न उनी बिहीबार स्याफ्रुबेँसी पुगेका हुन्।

स्थलगत निरीक्षणपछि सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै राजदूत श्रीवास्तवले भनेका छन्, ‘चिलिमेनजिकै स्याफ्रुबेँसीमा तैनाथ हाम्रो प्राविधिक टोलीलाई भेटेँ। उनीहरूले उद्धार कार्यका लागि चिलिमे जलविद्युत् गृहको सुरुङ पन्छ्याउने तथा खन्ने कामलाई निरन्तरता दिइरहेका छन्।’

नेपाली सेनासँग काँधमा काँध मिलाएर काम गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र १०० मिटरभन्दा बढी क्षेत्रमा खोजी कार्य पूरा गरिसकेको राजदूत श्रीवास्तवले जानकारी दिएका छन्।

‘उनीहरू सुरुङभित्र अझ अगाडि बढ्नका लागि भारी उपकरणहरू ल्याउने योजना बनाइरहेका छन्। हाम्रा र नेपाली टोलीहरूले प्रगति गरिरहेको गाह्रो दलदलजस्तो जमिन र चुनौतीपूर्ण भूभाग मैले प्रत्यक्ष देखेँ,’ उनले भने।

परिस्थिति अत्यन्त कठिन र जोखिमपूर्ण भए तापनि भारतीय र नेपाली दुवै टोली अविचलित भई उद्धार कार्यमा निरन्तर खटिरहेको उनले उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *