भोटेकोशी बाढीका मृतकप्रति एमाले अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको १३औँ पुण्यतिथिका दिन आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले बाढीबाट भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरे। बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका विभिन्न निकाय र सङ्घसंस्थाप्रति उनले धन्यवाद व्यक्त गरे।
एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक सङ्घसंस्था र अन्तरराष्ट्रिय समुदायले पुर्याएको सहयोगप्रति ओलीले आभार व्यक्त गरे।
‘हराइरहेका दाजुभाइ तथा दिदीबहिनीको सकुशल उद्धारमा सफलता मिल्ने’ आशा व्यक्त गर्दै अध्यक्ष ओलीले खोजी तथा उद्धारकार्यलाई प्रभावकारी ढङ्गले निरन्तरता दिनुपर्ने माग राखे। बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दै उनले आवश्यक समन्वय र सहकार्य र आफूहरू तयार रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment