स्मार्ट टेलिकम प्रकरण: एनआईएमबी अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले सो धरौटी माग गरेको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी रिहा भएका छन्।
पाँडेविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको थियो। अदालतसमक्ष बयान दिँदै पाँडेले स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण भुक्तानी नगरेपछि प्रचलित बैंकिङ कानुनी प्रक्रिया अपनाएर नै धितोमा रहेको सामान लिलाम गरी कर्जा असुली गरिएको स्पष्ट पारेका छन्।
उनले स्मार्ट टेलिकमको सामान व्यक्तिगत रूपमा कब्जा वा दुरुपयोग नगरेको र बैंकको बक्यौता रकम असुल गर्न नियमानुसार लिलामी प्रक्रिया अघि बढाइएको बताएका छन्। अदालतको आदेशमा पनि पाँडेले लिलाम प्रक्रियामार्फत बैंकको लेना रकम असुल गरेको बयान दिएको उल्लेख छ।
यस प्रकरणमा मुख्य विवाद नै ऋण असुलीका लागि धितोमा रहेको सम्पत्ति लिलाम गर्ने बैंकिङ प्रक्रियालाई आपराधिक कसुर मान्न मिल्छ कि मिल्दैन भन्नेमा केन्द्रित रहेको छ।
कर्जा सुरक्षणका लागि राखिएको धितोबाट बक्यौता रकम असुल गर्नु सामान्य बैंकिङ अभ्यास मानिने भएकाले यो पाँडेको व्यक्तिगत निर्णय वा लाभका लागि नभई बैंकको हित र कानुनसम्मत प्रक्रियाअनुसार नै गरिएको एनआईएमबी पक्षको दाबी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment