सूर्यविनायक-धुलिखेल सडक विस्तारमा सुस्तता: स्थानीयवासी र यात्रुलाई सास्ती

सनम सुवाल/रासस
२३ भदौ २०८३ १२:५६

बनेपा (काभ्रे)। काठमाडौं उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले तीन वर्षअघि सुरु गरिएको झन्डै १६ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासी र यात्रुले ठूलो सास्ती भोग्नुपरेको छ

तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा स्थानीयवासी हिलो, धुवाँ र अव्यवस्थित आवागमनका कारण मर्कामा परेका हुन्

सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि आयोजनाको म्याद थप गरिएको थियो। बजेट अभाव, निर्माणस्थलमा देखिएका अवरोध तथा विभिन्न प्राविधिक समस्याका कारण आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन

मुख्य चार लेन र दुई सर्भिस लेन गरी छ लेनमा विस्तार गर्ने लक्ष्यसहित अघि बढेको यस आयोजनामा नाला, पैदलमार्ग, सडक सुरक्षा संरचना, रिटेनिङ वाल, आवश्यक स्थानमा पुल र अन्डरपासलगायतका संरचना निर्माण गर्नुपर्ने सम्झौता छ

सडक विभागका अनुसार आयोजनाको कूल अनुमानित लागत रु १० अर्ब ५० करोड छ भने सम्झौता रकम रु आठ अर्ब ५१ करोड रहेको छ। आयोजनाको काम सूर्यविनायक-साँगा र साँगा-धुलिखेल गरी दुई सडक खण्डमा विभाजन गरेर अघि बढाइएको छ

पछिल्लो विवरणअनुसार सिङ्गो आयोजना पूरा गर्न अझै ४० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ। काभ्रेतर्फको आठ दशमलव तीन किलोमिटर लामो साँगा-धुलिखेल खण्डको स्तरोन्नतिका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग विसं २०७९ मङ्सिर २७ गते  चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो। य

स खण्डमा ६८ प्रतिशत भौतिक र ६३ दशमलव पाँच प्रतिशत आर्थिक प्रगति भएको आयोजनाको दाबी छ। यस खण्डको काम २०८३ मङ्सिर २३ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने म्याद छ

त्यस्तै, सात दशमलव पाँच किलोमिटर लामो सूर्यविनायक-साँगा खण्डको काम बन्धन भगवती जेभीले गरिरहेको छ। यस खण्डका लागि २०७९ पुस २४ गते रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएकोमा हालसम्म भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत मात्र पुगेको छ। मूल सम्झौता अवधि सकिएपछि यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्मका लागि थप गरिएको छ

दुई खण्डअन्तर्गत निर्माणको प्रगतिमा उल्लेख्य अन्तर देखिएको छ। काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली तथा रिटेनिङ वाल निर्माणको काम धेरैजसो सम्पन्न भइसकेको छ भने मुख्य सडकमा कालोपत्र गर्ने काम अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ

साँगा, जनागाल, बाँसघारी, बुडोल तथा बनेपा बजार आसपासका क्षेत्रमा काम भइरहेको भए पनि बनेपा बजारको मुख्य सहरी क्षेत्रमा ढल, सर्भिस लेन तथा मुख्य सडक कालोपत्र गर्ने काम धिमा गतिमा अघि बढ्दा नगरवासीले सास्ती व्यहोर्नु परेको छ भने स्थानीयको व्यापार-व्यवसायमा समेत मन्दी आएको व्यापारी मणि श्रेष्ठको भनाइ छ

अर्कातिर भक्तपुरतर्फको सूर्यविनायक-साँगा खण्डमा जग तयार गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, पुल तथा नाली बनाउनेलगायतका संरचनागत कामहरू सुस्त गतिमा भइरहेका छन्

साँगा क्षेत्रमा अन्डरपास निर्माणको काम निरन्तर भइरहेको र साँगा भञ्ज्याङमा निर्माणाधीन अन्डरपास सम्पन्न भएपछि स्थानीय बस्तीबाट आउने-जाने सवारीसाधन तथा पैदलयात्रीलाई केही सहज भएको स्थानीय जीवन श्रेष्ठले बताएका छन्

आयोजनाअन्तर्गत जगाती, महादेव खोला र पुण्यमाता खोला गरी तीन स्थानमा १२ वटा पुल निर्माणका लागि एम/एस हिमडुङ एन्ड थोकर–रामजानकी जेभीसँग सम्झौता भएको छ

‘डिजाइन एन्ड बिल्ड’ मोडलमा निर्माणाधीन ती पुलको भौतिक प्रगति हालसम्म १० प्रतिशत र आर्थिक प्रगति तीन दशमलव २८ प्रतिशतमा सीमित छ। पुल निर्माणका क्रममा आवश्यक डिजाइन पुनरावलोकन तथा स्थानीयस्तरमा देखिएका प्राविधिक विषयका कारण समय लागेको आयोजनाका इन्जिनियर विष्णु खनालले जानकारी दिएका छन्

आयोजनामा ढिलाइ हुनुमा बजेट अभाव पनि प्रमुख कारण बनेको छ। आयोजना कार्यान्वयन एकाइकी सूचना अधिकारी अञ्जु परियारका अनुसार सरकारले भुक्तानी दिन ढिलाइ गरिरहेको छ

चालु आर्थिक वर्षमा आयोजनाका लागि कूल ९३ करोड १० लाख १७ हजार ७ सय १६ बजेट विनियोजन भएकोमा चालुतर्फ रु दुई करोड ३२ लाख १७ हजार ७ सय १६ र पुँजीगततर्फ रु ९० करोड ८९ लाख छुट्ट्याइएको छ

गत आर्थिक वर्षमा निर्माण व्यवसायीलाई भ्याटसहित  एक अर्ब ७० करोड ७९ लाख २३ हजार ३ सय ७६ भुक्तानी गरिएको भए पनि चालु आर्थिक वर्षमा पर्याप्त बजेट अभाव हुँदा काम सम्पन्न गरेका निर्माण व्यवसायीको बिल भुक्तानीमा समस्या परेको छ

निर्माण सामग्री खरिद, उपकरण परिचालन तथा जनशक्ति व्यवस्थापनका लागि नियमित आर्थिक स्रोत आवश्यक पर्ने भएकाले भुक्तानीमा हुने ढिलाइले निर्माणको गति प्रभावित बनेको हो

इन्जिनियर खनालका अनुसार स्थानीयस्तरमा देखिएको विवाद, विद्युत्का पोल, खानेपानीका पाइप तथा अप्टिकल फाइबर स्थानान्तरणमा भएको ढिलाइ, साइट क्लियरन्सको समस्या, बिटुमिन तथा इन्धनको संकट र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पनि काम सोचेअनुसार अघि बढ्न सकेको छैन

जगाती, नलिनचोक, साँगा तथा बनेपाका मुख्य बजार क्षेत्रमा सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र जग्गा प्राप्तिको विषयले पनि सुरुआती गति प्रभावित बनाएको थियो

निर्माण कम्पनीले एकातिर सडक विस्तारको काम गर्नुपर्ने र अर्कोतिर नियमित सवारी आवागमन व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। सुक्खायाममा उड्ने धुलो र वर्षायाममा हिलो तथा अव्यवस्थित डाइभर्सनका कारण यात्रुहरू हैरान छन्

जगातीदेखि बनेपासम्म सामान्य अवस्थामा करिब ४५ मिनेटमा पार गर्न सकिने दूरी सवारी जामका कारण बनेपादेखि काठमाडौँसम्म पुग्न दुई घण्टा समय लाग्ने गरेको यात्रुहरू बताउँछन्

विशेष गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य पूर्वी नाका र बीपी राजमार्ग हुँदै पूर्व जाने सवारी साधनको चापका कारण साँगा र बनेपा क्षेत्रमा दैनिक ठूलो जाम हुने गरेको छ

आयोजना कार्यालयले वातावरणीय प्रभाव न्यूनीकरणका लागि डाँडा काटिएका स्थानमा पहिरो रोक्न जाली भर्ने, टेकिङ वाल निर्माण गर्ने तथा घाँस-रूख रोप्ने कामसमेत अघि बढाएको जनाएको छ। साथै छ लेन सडकका दुवै किनारमा अपाङ्गतामैत्री पैदलमार्ग, पक्की नाली र सडक बत्ती जडान गर्ने योजना पनि समेटिएका छन्

आयोजना कार्यालयका अनुसार अब विसं २०८३ पुसभित्र छ लेन सडकको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित नयाँ कार्ययोजना बनाइएको छ

चालु सुक्खायामभित्रै साँगा-धुलिखेल खण्डको भौतिक प्रगति शतप्रतिशत पुर्‍याउने र सूर्यविनायक–साँगा खण्डको कामलाई समेत तीव्रता दिने गरी निर्माण कम्पनीलाई परिचालन गरिएको आयोजनाले जनाएको छ

सडक निर्माण सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको पूर्वी नाकामा हुने सवारी चाप न्यूनीकरण हुनुका साथै व्यापारिक तथा यात्रुवाहक सवारीको आवागमन सहज भई आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ

तर निर्माण अवधि लम्बिँदा यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ भने सवारीको समय र इन्धन खर्चसमेत बढेको छ। थपिएको म्यादभित्र काम सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चितता, समयमै भुक्तानी र अन्तरनिकाय प्रभावकारी समन्वय आवश्यक देखिन्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *