जेन-जी आन्दोलनको एक वर्ष: २४ भदौको विध्वंशलाई नेकपाले भन्यो ‘कालो दिन’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसपछिको विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमै ‘कालो दिन’ को रूपमा टिप्पणी गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै नेकपाले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टीले सुरुमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज जायज भए पनि त्यसलाई दमन गर्न खोज्दा र पछि संदिग्ध तत्वहरूले आन्दोलन अपहरण गर्दा मुलुकमा ठूलो क्षति पुगेको जनाएको छ।
जेन-जीको असन्तुष्टि र विध्वंस एउटै होइन
नेकपाका अनुसार भदौ २३ गते युवाहरूले गरेको प्रदर्शन शान्तिपूर्ण र सामाजिक सञ्जाल उत्प्रेरित थियो। तर, राज्यको दमनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका राष्ट्रिय धरोहर र सार्वजनिक-निजी सम्पत्तिमा लुटपाट र आगजनी गरिएको थियो।
‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइनन्,’ प्रचण्डले जारी गरेकाे वक्तव्यमा भनिएको छ, ‘प्रतिक्रान्तिकारी विध्वंसले २४ भदौलाई कालो दिनका रूपमा स्थापित गरेको छ। २३ गते नै वास्तविक जेन्जी अभियन्ताहरूले घुसपैठ भएको भन्दै घर फर्कन आह्वान गरेको तथ्य महत्त्वपूर्ण छ।’
उच्चस्तरीय र निष्पक्ष छानबिनको माग
तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि सिंहदरबारसहितका धरोहरहरूमा संगठित रूपमा प्रज्वलनशील पदार्थ प्रयोग गरी विध्वंस मच्चाइनुले गम्भीर प्रश्न उठाएको नेकपाको निष्कर्ष छ।
पार्टीले दमन, हिंसा, संसद् विघटन र गैरदलीय सरकार गठनसम्मका घटनाहरूको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन हुनुपर्ने माग गरेको छ।
साथै, राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनलाई दराजमा नथन्क्याई तत्काल कार्यान्वयन गर्न र दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ।
‘लोकतन्त्रको सर्भिसिङ’ आवश्यक
नागरिक र युवाहरूले खोजेको सुशासन, रोजगारी र समृद्धि अझै पूरा नभएको भन्दै माओवादीले वर्तमान सरकारको आलोचना गरेको छ। महँगी, शिथिल अर्थतन्त्र, युवा पलायन र विपद् व्यवस्थापनमा सरकार असफल भएको आरोप वक्तव्यमा लगाइएको छ।
संविधान संशोधनका नाममा लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता जस्ता मूलभूत संरचनालाई कमजोर पार्ने कुनै पनि प्रतिगामी प्रयासको दृढतापूर्वक प्रतिवाद गर्ने नेकपाले स्पष्ट पारेको छ।
लोकतन्त्रका कमजोरीलाई हटाएर यसलाई अझ उत्तरदायी र पारदर्शी बनाउन ‘लोकतन्त्रको सर्भिसिङ’ आवश्यक रहेको उल्लेख गर्दै पार्टीले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment