कृष्णभीरमा नयाँ ट्रयाक निर्माण तीव्र : भदौभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने तयारी
धादिङ । त्रिशूली नदीको बाढीले कटान गरेर सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ। भदौभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको छ।
भोटेकोसी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले नदी किनारस्थित सडकको तल्लो भाग (बेस) कटान गरेपछि काठमाडौं जोड्ने यो प्रमुख लाइफलाइन राजमार्ग विगत १४ दिनदेखि अवरुद्ध छ। भदौ १४ गते कृष्णभीरमा सडकको जग नै कटान भएपछि करिब एक सय मिटर सडक भासिएको थियो।
सडक भासिएकै स्थानभन्दा माथि पहाड काटेर नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारी साधन आवतजावतका लागि योग्य बनाउने काम यतिबेला द्रुत गतिमा भइरहेको छ। हाल पहाड काटेर २५० मिटर नयाँ ट्रयाक दुवैतर्फ जोड्ने काम सम्पन्न भइसकेको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार आइतबारदेखि ग्राभेल र रोलिङको काम सुरु गरी भदौभित्रै यातायात सञ्चालनमा ल्याउने तयारी छ। ‘ग्राभेल र रोलिङको काम पहाड काट्ने जत्तिकै सहज हुँदैन, यसलाई लेयर–लेयर (तहतह) गरेर मिलाउनुपर्छ,’ अधिकारीले भनिन्, ‘त्यसैले यो काम सम्पन्न हुन ३ देखि ४ दिन लाग्न सक्छ। यद्यपि, यो महिनाको अन्त्यसम्ममा यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य छ।’
त्रिशूलीले सडकको तल्लो भाग कटान गरेर पूरै भासिएकाले माथिल्लो भागबाट नयाँ ट्रयाक खोल्नुपरेको उनले स्पष्ट पारिन्। नयाँ खोलिएको ट्रयाकले अब आवतजावतमा ठूलो समस्या नल्याउनेमा उनी विश्वस्त छन्। ‘कृष्णभीरमा पहिले बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरी कंक्रिट र बिरुवा मिलाएर पहिरो रोकिएको थियो, जुन दीर्घकालीन नै रह्यो,’ उनले थपिन्, ‘अहिले नसोचेको बाढी आएर तल्लो भाग कटान गर्दा सडक भासिन पुगेको हो। माथिबाट निर्मित यो नयाँ सडकले खासै अवरोध सिर्जना नगर्ला भन्ने आशा छ।’
कृष्णभीरमा सडक अवरुद्ध भएपछि देशका विभिन्न भागबाट हुने अत्यावश्यक वस्तुको ढुवानी नराम्ररी प्रभावित बनेको छ। राजमार्ग बन्द हुँदा उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ भने हेटौँडा–काठमाडौं वैकल्पिक मार्गमा सवारी साधनको अत्यधिक चाप बढेको छ। कृष्णभीरको पहिरोका कारण काठमाडौं र धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आउजाउ गर्ने यात्रु र सवारीसाधन सास्ती खेप्न बाध्य छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment