एउटै खेलबाट कप्तान लामिछानेका नाममा तीन ऐतिहासिक उपलब्धि
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेर इतिहास रचेका छन्। एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको फाइनल खेलमा एक विकेट लिँदै उनले यो कोसेढुङ्गा पार गरेका हुन्।
सन्दीपले हालसम्म एकदिवसीय अन्तरराष्ट्रिय (ODI) मा १५८ र टी-२० आई मा १४२ विकेट गरी कुल ३०० विकेट पुर्याएका छन्। उनले अहिलेसम्म ७९ एकदिवसीय र ७८ टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन्।
युएईलाई हराएर उपाधि उचालेसँगै सन्दीप विदेशी मैदानमा एसिसी प्रिमियर कपको ट्रफी जिताउने पहिलो नेपाली कप्तान बनेका छन्। यसअघि सन् २०२३ मा घरेलु मैदानमा सम्पन्न प्रिमियर कपको उपाधि जित्दा नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए।
यसका साथै सन्दीप एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडी बनेका छन्। सन् २०२३ को संस्करणमा ५५ रन बनाउनुका साथै १३ विकेट लिएर सर्वोत्कृष्ट खेलाडी चुनिएका उनले यसपटक थप प्रभावशाली प्रदर्शन गरे।
एसिसी प्रिमियर कप २०२६ मा सन्दीपले ६ खेलमा २.९८ को किफायती इकोनमी रेटमा सर्वाधिक १७ विकेट लिँदै नेपाललाई दोस्रोपटक एसिया कपमा छनोट गराउन निर्णायक भूमिका निर्वाह गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment