चिकित्सक डा. निपेन कटेलको नयाँ पप गीत ‘तिमी नबोल्दा’ सार्वजनिक

डिसी नेपाल
३१ भदौ २०८३ ८:०२

ओहायो, अमेरिका।अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. निपेन कटेल नयाँ पप गीत ‘तिमी नबोल्दा’ मार्फत श्रोता तथा दर्शकमाझ आएका छन्। भर्खरै म्युजिक भिडियोसहित सार्वजनिक गरिएको यस गीतले प्रेम, भावना, आत्मीय सम्बन्ध र मनभित्र गुम्सिएर रहने अव्यक्त अनुभूतिहरूको कथा बोकेको छ।

पप शैलीमा तयार पारिएको यस गीतमा डा. कटेलकै शब्द, सङ्गीत र स्वर रहेको छ। गीतको सङ्गीत संयोजन तथा निर्माण सुवास सेन्चुरीले गरेका हुन् भने अमेरिकाको ओहायोस्थित कोलम्बसमा रहेको एसएम स्टुडियोमा गीत रेकर्ड गरिएको हो। गीतलाई डा. कटेलको आफ्नै युट्युब च्यानल ‘निपेन कटेल’ मार्फत बजारमा ल्याइएको छ।

लक्ष्मण अधिकारीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायांकन अमेरिकामै गरिएको हो। राम अधिकारीले छायाङ्कन तथा सम्पादन गरेको भिडियोमा डा. निपेन कटेल र नवकलाकार वर्षा घिमिरेको अभिनय देख्न सकिन्छ। भिडियोका अधिकांश दृश्यहरू कोलम्बस र त्यस आसपासका रमणीय स्थलहरूमा कैद गरिएका छन्।

ओहायोको कोलम्बस नजिकै ब्ल्याकलिकमा बसोबास गर्दै आएका डा. कटेल ओहायोकै न्यु अल्बानीस्थित माउन्ट कार्मेल क्लिनिकमा प्राइमरी केयर चिकित्सकका रूपमा कार्यरत छन्। चिकित्सा पेसामा निरन्तर सक्रिय रहँदै आएका उनले आफ्नो सङ्गीतप्रतिको मोहलाई पनि निरन्तरता दिँदै आएका हुन्।

यसअघि उनले सार्वजनिक गरेको ‘माया देऊ मलाई’ बोलको गीतले श्रोतामाझ राम्रो चर्चा कमाएको थियो। सन् २०२५ मा उनले ‘मेरो हात समाऊ’ बोलको लिरिकल गीतसमेत सार्वजनिक गरेका थिए।

सन् २०१६ मा जर्जियाको एटलान्टामा रहँदादेखि नै गायनमा सक्रिय निपेनले करिब एक दशकअघि चारवटा गीत रेकर्ड गराएका थिए। विशेषगरी पप शैलीका गीत गाउन रुचाउने उनी पछिल्ला वर्षहरूमा नियमित रूपमा नयाँ सिर्जनाहरू ल्याउन छाडेका छैनन्।

गीत सार्वजनिक गर्दै डा. कटेलले भने, “गीत-सङ्गीतप्रतिको मेरो रुचि पुरानै हो। अब यस यात्रालाई निरन्तरता दिँदै नयाँ सिर्जनाहरू श्रोता-दर्शकमाझ ल्याउनेछु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *