नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औं वर्ष: काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुँदै

डिसी नेपाल
३१ भदौ २०८३ १२:४८

काठमाडौं।  नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी २०८३ मङ्सिर ६ गते (२२ नोभेम्बर २०२६) काठमाडौंको दरबारमार्गमा ‘नेपाल-जापान महोत्सव २०२६: संस्कृति मार्फत ऐक्यबद्धता’ आयोजना हुने भएको छ

‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा यो महोत्सव सम्पन्न हुन लागेको हो

यस महोत्सवले नेपाली तथा जापानी सङ्गीत, कला-संस्कृति र जनस्तरको सम्बन्धमार्फत दुई देशबिचको आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ

ऐतिहासिक जापानी ब्यान्ड ‘गौदिगो’ को पुनरागमन

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात जापानी ब्यान्ड ‘गौदिगो’ को विशेष सांगीतिक प्रस्तुति रहनेछ। सन् १९८० मा दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि यो ब्यान्ड पुनः नेपाल आउन लागेको हो

उनीहरूको यो पुनरागमनले नेपाल र जापानबिचको लामो सांस्कृतिक सम्बन्धमा एक महत्त्वपूर्ण एवं प्रतीकात्मक आयाम थप्ने विश्वास गरिएको छ

महोत्सवमा नेपालका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति हुनुका साथै दुवै देशको प्रतिनिधित्व हुने विविध सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक प्रदर्शनीहरूसमेत समावेश गरिनेछ

बाढीपीडितका लागि सहयोग

हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको विषम परिस्थितिलाई दृष्टिगत गर्दै, कार्यक्रम सञ्चालनका लागि लाग्ने आवश्यक खर्च कटाएर बचत हुने सम्पूर्ण रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा प्रदान गरिने आयोजकले जनाएको छ

यस महोत्सवले देशको पर्यटन प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई थप उजागर गर्दै देशको आर्थिक पुनरुत्थानमा समेत सकारात्मक टेवा पुर्‍याउने अपेक्षा गरिएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *