भारी वर्षाको जोखिम: बिपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी सञ्चालन बन्द
काभ्रे। काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षा र बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि असोज १२ गते बिहान ५:०० बजेसम्म हरेक दिन बेलुकी ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
मौसम पूर्वानुमान अनुसार असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुन सक्ने सम्भावना रहेकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए।
बैठकले वर्षा तथा बाढीको अवस्था मूल्यांकन गरी दिनको समयमा समेत सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था आएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको छ।
सो निर्णय कार्यान्वयनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई समेत अनुरोध गर्ने निर्णय भएको उनले बताए।
यसैगरी, बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर सतर्क गराउन र स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ।
विपद् उद्धारका लागि नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टरका उद्धार टोलीहरूलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ। साथै, स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही समन्वय र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ।
प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका सम्पूर्ण नागरिकहरूलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment