एमालेको केन्द्रीय र स्थायी समिति विस्तारको तयारी: को-को पर्दैछन् मनोनयनमा?
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय समिति र स्थायी समितिमा नयाँ सदस्यहरू मनोनयन गर्ने विषयका साथै पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि गहन छलफल भएको छ।
पार्टी मुख्यालय च्यासलमा बसेको बैठकपछि जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले केन्द्रीय समितिमा कसलाई र कसरी मनोनयन गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको बताए।
उनका अनुसार स्थायी समितिमा थप गर्नुपर्ने सदस्यहरूका विषयमा समेत बैठकमा व्यापक विमर्श भएको छ। यी सम्पूर्ण सांगठनिक मनोनयनका विषयमा अन्तिम निर्णय भने केन्द्रीय समितिको बैठकबाटै हुने उनले जानकारी दिए।
बैठकका निर्णयबारे जानकारी गराउँदै उपमहासचिव भट्टले भने, ‘मनोनयन कसलाई र कसरी गर्ने भन्ने विषयमा छलफल भयो, जसले अलि लामो समय लियो। त्यसैगरी स्थायी समितिका सन्दर्भमा पनि छलफल भयो। यी सबै विषय केन्द्रीय कमिटीमा नै गएर टुङ्गिन्छन्।’
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनबारे समेत छलफल भएको थियो।
अध्यक्षको प्रतिवेदनले पार्टीभित्र अभूतपूर्व एकताको भावना पैदा गरेको उल्लेख गर्दै उपमहासचिव भट्टले त्यसलाई तल्लो तहसम्म एकरूपताका साथ सम्प्रेषण गर्ने विषयमा बैठकले विशेष जोड दिएको स्पष्ट पारे।
यसैगरी, विभिन्न राजनीतिक समूहबाट एकतामा आएका तथा अन्य दल त्यागेर पार्टी प्रवेश गरेका प्रभावशाली नेताहरूलाई केन्द्रीय समितिमा उपयुक्त जिम्मेवारीसहित मनोनयन गर्ने विषयमा पनि बैठकमा सहमति जुटेको छ।
मनोनयनसम्बन्धी अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट स्वीकृत भएपछि औपचारिक रूपमा नाम सार्वजनिक गरिने बताइएको छ।
स्थायी समितिमा मनोनयनका लागि केही महत्त्वपूर्ण विषयहरू टुङ्गिए पनि त्यसको औपचारिक अनुमोदन केन्द्रीय समितिबाटै हुने उपमहासचिव भट्टले बताए। बैठकले बाँकी सांगठनिक एजेन्डाहरूमा केन्द्रीय समितिमा थप छलफल गरी आवश्यक निर्णय लिने र सचिवालयले त्यसका लागि अग्राधिकार लिएर कार्यसम्पादन गर्ने निर्णय गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment