मौसम प्रतिकूल बनेपछि मनाङका उच्च हिमाली पदमार्गमा तीन दिन रोक
फाइल तस्वीर
मनाङ । भारी वर्षा र हिमपातको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गतका उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न अस्थायी रोक लगाएको छ। प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबारदेखि आइतबार (असोज ९ देखि ११ गते) सम्म तीन दिनका लागि पदयात्रा बन्द गरिएको जनाएको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याएपछि सम्भावित मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यो अवधिमा विश्वप्रसिद्ध तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, काङ्ग्ला पास, भिमथाङ क्षेत्रलगायत मनाङका अन्य उच्च हिमाली भेगहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
यसैबीच, पदयात्राका क्रममा बाटोमै रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई तत्काल नजिकैको सुरक्षित स्थान वा होटल-लजमा आश्रय लिन प्रशासनले अनुरोध गरेको छ। मौसममा सुधार नआएसम्म यात्रा अघि नबढाउन र सुरक्षा निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न पदयात्री तथा पर्यटन व्यवसायीहरूलाई आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment