पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति
म्याग्दी। पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन प्रभावित भएको छ।
झरीसँगैको बाढी पहिरोले ग्रामीण बस्तीको जिल्ला सदरमुकाम बेनी बजारको सम्पर्कबिच्छेद भएको छ। ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा बाढीको सतह बढेपछि सर्तकता अपनाइएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार आज साँझसम्म पहिरोका कारण १९ घरमा क्षति पुगेको छ। पाँच वटा गोठ भत्किँदा तीन वटा भैँसी मरेका छन्। अठ्ठाइस घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जनाएको छ।
मङ्गला गाउँपालिका–२ रनवाङका तीन र सात परिवारका १३ जनालाई स्थानान्तरण गरिएको छ। रनवाङमा दुई घरमा क्षति पुगेको छ। मङ्गला–५ को घेगरेमा छ घरपरिवारलाई आमा समूहको भवनमा राखिएको छ।
अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा दुई घर भत्किएको र एक भैँसी पुरिएको छ भने दुई घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वडा नं ८ राम्चेको धारापानी क्षेत्रमा पहिरा जाँदा चार घरपरिवार जोखिममा परेका छन्।
मालिका गाउँपालिका–५ मा एक गोठमा क्षति र एक घर जोखिममा परेको छ। बेनी नगरपालिका–१ रत्नेचौरमा एक/एक घर भत्किएको र जोखिम तथा दुई घर विस्थापित भएका छन्। वडा नं २ बालडाँडामा पहिरोले दुई घर, एक गोठ र दुई भैँसीको क्षति भएको छ भने दुई वटा घर स्थानान्तरण भएका छन्।
वडा नं ३ भकिम्लीमा पहिरोका कारण सात वटा घर, तीन वटा गोठ र दुई वटा भैँसीको क्षति भएको छ। सात घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। बेनी नगरपालिका–४ ज्याम डाँडाखेतमा क्षति पुगेका चार घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ।
प्राकृतिक उपचार स्थल तातोपानी कुण्डको भवनमा पहिरोले क्षति गरेको छ। बेनी नगरपालिका–५ चिप्लेटीमा एक घर क्षति भएको छ। वडा नं ६ अर्थुङ्गेमा चार घर जोखिममा परेका छन्। रघुगङ्गा गाउँपालिका–६ पाखापानी बस्तिमा पाखोबाट भलबाढी पसेर क्षति पुगेको छ।
म्याग्दीको मुख्य बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी पाखापानी सडक पहिरो, कटान र बाढीका कारण अवरुद्ध भएका सहायक प्रजिअ आचार्यले बताउनुभयो। वर्षात् रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक योजना र पूर्वाधार विकास कार्यालयमार्फत अवरुद्ध सडक मर्मत गरिने प्रशासनले जनाएको छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment