आफ्नै देशमा प्रतिबन्धित थिए फ्लाइदुबइ अपहरण गर्न खोज्ने कोपाइलट

डिसी नेपाल
१८ असोज २०८३ १२:२८

काठमाडौं । इजरायलतर्फ जाँदै गरेको फ्लाईदुबई उडानका क्याप्टेनमाथि आक्रमण गरेको अभियोग लागेका सह-पाइलटको पहिचान ओमानी नागरिकका रूपमा भएको छ। मिडिया रिपोर्टहरूका अनुसार कथित उग्रवादी विचारको आशङ्काका कारण उनलाई यसअघि आफ्नै देशमा उडान भर्न प्रतिबन्ध लगाइएको थियो।

यद्यपि, पाइलटको पहिचान वा उनको विचारधाराबारे अझै कुनै आधिकारिक पुष्टि भने भएको छैन। संयुक्त अरब इमिरेट्सले शनिबार उडान एफजेड १०७३ मा बुधबार भएको घटनालाई ‘आतंकवादी अपरेसन’ को प्रयास भन्दै सह-पाइलटले भारतीय नागरिक क्याप्टेन स्मित मच्छरमाथि आपतकालीन बन्चरोले आक्रमण गरेको र विमान नियन्त्रणमा लिने प्रयास गरेको जनाएको छ।

तर, अनुसन्धानकर्ताहरू अझै पनि यस आक्रमणको उद्देश्य र यसमा अन्य कसैको संलग्नता थियो कि थिएन भन्ने कुरा पत्ता लगाउन प्रयासरत छन्। यस घटनाले पाइलटहरूको सुरक्षा जाँच र उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

१७४ जना सवार दुबई-तेल अभिभ उडानका क्याप्टेनमाथि आक्रमण गरेको शङ्का गरिएका सह-पाइलटको पहिचान ‘हामाम अल-हमामी’ नाम गरेका ओमानी नागरिकका रूपमा भएको छ। यो जानकारी घटनाबारे जानकार रहेका खाडी मुलुकका एक कूटनीतिज्ञ र एक पश्चिमी कूटनीतिज्ञसहित तीन जना व्यक्तिले समाचार एजेन्सी एपीलाई दिएका हुन्।

मिडियासँग कुरा गर्ने अधिकार नभएकाले उनीहरू सबैले नाम नछाप्ने सर्तमा जानकारी दिएका हुन्। खाडीका कूटनीतिज्ञले उनले ‘लोन वुल्फ’ (एक्लै) रूपमा काम गरेका हुन् वा कुनै उग्रवादी समूहसँग उनको सम्बन्ध थियो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।

अमेरिकी मिडिया आउटलेट सीएनएनले एक स्रोत र इजरायली अधिकारीलाई उद्धृत गर्दै अल-हमामी ओमानी नागरिक हुन् र उनको जन्म युएईमा सिरियाली आमाबाट भएको तथा उनले इमिरेट्समा धेरै वर्ष बिताएको रिपोर्ट गरेको छ।

दुबईस्थित कम लागतको यो एयरलाइन्समा जोडिनुअघि उनको विगतको उड्डयन करियर र उनीबारे कुनै चेतावनी जारी गरिएको थियो कि थिएन भन्नेबारे प्रश्नहरू उठेका छन्।

द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै शुक्रबार ओमानी अधिकारीहरूले कथित रूपमा उग्रवादी विचार राखेको चिन्ताका कारण आरोपी सह-पाइलटलाई देशभित्र उडान भर्न प्रतिबन्ध लगाएको रिपोर्ट गरेको थियो।

यद्यपि, ती कथित विचारहरू के थिए वा ओमानले आफ्ना चिन्ताहरूबारे अन्य देश वा एयरलाइन्सहरूलाई जानकारी गराएको थियो कि थिएन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

सीएनएनले छुट्टै एक क्षेत्रीय कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अल-हमामीलाई यस्तै चिन्ताका कारण उडान तालिमबाट हटाइएको र पछि अर्को पदमा सारिएको बताएको छ।

अमेरिकी नेटवर्कले अल-हमामीको नाममा रहेको लिङ्क्डइन प्रोफाइल अनुसार उनले फेब्रुअरी २०२५ मा छाड्नुअघि ओमान एयरमा सात वर्ष बिताएको उल्लेख गरेको छ। सो प्रोफाइलमा उनी जुन २०२५ मा रोयल एयर म्यारोकमा भर्ना भएको र जनवरी २०२६ मा छाडेको उल्लेख छ।

अल-हमामीले बेलायतको एक विश्वविद्यालयमा अध्ययन गरेको कुरा अहिले पुष्टि भएको छ।

प्रेस एसोसिएसन लाई दिएको वक्तव्यमा बकिङ्गमसर न्यु युनिभर्सिटीका प्रवक्ताले भनेका छन्: “हाम्रो सहानुभूति यस घटनामा घाइते भएका पाइलट, क्रू सदस्य र यात्रुहरूप्रति छ।”

“हामाम अल-हमामीले यसअघि उड्डयन व्यवस्थापनमा डिस्टन्स-लर्निङ (दूरशिक्षा) कोर्स पूरा गरेका थिए। उनले विश्वविद्यालयमा पाइलटको कुनै तालिम भने लिएका थिएनन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *