इरानद्वारा होर्मुज जलडमरूमध्यमा ५ दिनमा ७ वटा तेल ट्यांकरमाथि आक्रमण, नियन्त्रण कडा बनाइँदै

डिसी नेपाल
१८ असोज २०८३ १२:३२

तेहरान। इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनभित्र होर्मुज जलडमरूमध्यमा कम्तीमा सातवटा तेल ट्यांकरलाई निशाना बनाएको छ।

इरानी अर्धसरकारी सञ्चारमाध्यम फर्स समाचार एजेन्सीका अनुसार आईआरजीसीले औसतमा दैनिक एकभन्दा बढी तेल ट्यांकरमाथि हमला गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला इरानले यो रणनीतिक कदम चालेको हो।

स्वतन्त्र सैन्य पर्यवेक्षक ‘मेन्चओसिन्ट’ लाई उद्धृत गर्दै फर्सले जनाए अनुसार शुक्रबार मात्रै जलडमरूमध्यमा दुईवटा तेल ट्यांकरमा शक्तिशाली विस्फोट भएका छन्। जसमध्ये एउटा ट्यांकर जलमार्गको प्रवेशद्वार नजिक र अर्को बाहिरिने क्रममा रहेको अवस्थामा आक्रमणमा परेको हो।

पर्यवेक्षक मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका ‘अल फुन्टास’ र ‘काजिमाह-३’ तथा संयुक्त अरब इमिरेट्स (यूएई) का ‘सिनबाड’, ‘मेर्सिन प्रोस्पेरिटी’ र ‘अल रुवाइस’ नामका तेल ट्यांकरहरू प्रभावित भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार इरानले गत फेब्रुअरी २८ देखि नै रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यमा आफ्नो निगरानी, सैन्य उपस्थिति र नियन्त्रणलाई निकै कडा बनाएको छ।

इरानी भूभागमा भएको संयुक्त हमलापछि इरानले इजरायल र अमेरिकासँग सम्बन्धित वा ती देशहरूसँग जोडिएका कुनै पनि जहाजलाई सुरक्षित मार्ग प्रयोग गर्न नदिने र पूर्ण रोक लगाउने नीति लिएको स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *