निर्विरोध बने विश्वप्रकाश र पुष्पा, सभापतिसहित अन्य पदमा तीव्र प्रतिस्पर्धा
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्य पदका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनका विभिन्न पदाधिकारी तथा सदस्य पदहरूमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको सर्वोच्च पद सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति पदमा किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्कीले मनोनयन दर्ता गराए। वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भए।
उक्त पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि शर्मा निर्विरोध चयन भएका हुन्। त्यसैगरी, महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध निर्वाचित भइन्।
खुलातर्फका दुई उपसभापति पदका लागि डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारी गरी नौ जनाले उम्मेदवारी दर्ता गराए। त्यस्तै, एक पद रहेको समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ गरी पाँच जनाले मनोनयन दर्ता गरे।
खुलातर्फका दुई महामन्त्री पदका लागि शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्याय गरी आठ जनाले उम्मेदवारी दिए। महिलातर्फको एक महामन्त्री पदका लागि भने डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय (डिना) गरी तीन जनाको उम्मेदवारी पर्यो।
यसैगरी, सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा पनि प्रतिस्पर्धा हुने भएको छ। एक पद रहेको खसआर्य सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत गरी तीन जनाले मनोनयन दर्ता गराए। आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङ तथा महिला सहमहामन्त्रीमा नानु बस्तोला र प्रतिमा गौतम मैदानमा उत्रिएका छन्।
त्यसैगरी, मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादव गरी आठ जनाले मनोनयन दर्ता गरे।
दलित सहमहामन्त्रीमा नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली गरी चार जना तथा थारु सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी गरी तीन जनाको उम्मेदवारी पर्यो।
अल्पसंख्यक वा अपांगतातर्फ नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पा तथा मुस्लिम सहमहामन्त्रीतर्फ फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले उम्मेदवारी दिए।
पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्ट गरी सात जनाले उम्मेदवारी दर्ता गराए भने खुला सहमहामन्त्रीतर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराए।
मनोनयन दर्ता सकिएसँगै निर्वाचन समितिले दाबी-विरोध तथा छानबिन प्रक्रिया अघि बढाउने कुरा बताएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment