कांग्रेस महाधिवेशन: सहमहामन्त्रीका १० पदमा ४९ जनाको उम्मेदवारी, खुला र मधेशीमा तीव्र प्रतिस्पर्धा

डिसी नेपाल
२१ असोज २०८३ ७:२२
8
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका नेताहरूको प्रथम नामावली सार्वजनिक भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार सहमहामन्त्रीका विभिन्न १० पदका लागि कुल ४९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।

खुला सहमहामन्त्रीका दुई पदका लागि १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। जसमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना रहेका छन्।

त्यस्तै, समावेशी समूहअन्तर्गत मधेशी सहमहामन्त्रीको एक पदका लागि सबैभन्दा बढी आठ जनाको उम्मेदवारी परेको छ। मधेशीतर्फ अजयकुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह चुनावी मैदानमा छन्।

सहमहामन्त्रीको महिलातर्फको एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम बीच प्रतिस्पर्धा हुनेछ भने आदिवासी जनजातितर्फको एक पदका लागि ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङ गरी पाँच जनाले उम्मेदवारी दिएका छन्।

दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार मैदानमा छन् भने खसआर्य सहमहामन्त्रीमा जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत गरी तीन जनाको उम्मेदवारी परेको छ।

थारु सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी तथा मुस्लिम सहमहामन्त्रीका लागि अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलम बीच प्रतिस्पर्धा हुने भएको छ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको एक पदका लागि जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर गरी सात जना तथा अल्पसङ्ख्यक वा अपांगता समूहबाट आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली गरी चार जना उम्मेदवार रहेका छन्।

केन्द्रीय निर्वाचन समितिले प्रथम नामावलीमाथि परेका दाबी, विरोध तथा आपत्तिको प्रक्रिया छानबिन गरी पूरा गरेपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि देशभरबाट ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *