गगन थापाको मनोनयनबाट चन्द्रकान्त शर्मा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

डिसी नेपाल
२१ असोज २०८३ ८:०९

दोहा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि जनसम्पर्क समिति कतारका नेता चन्द्रकान्त शर्मा (केदार) महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्। प्रारम्भिक छनोट प्रक्रियाबाट वञ्चित भएका शर्मालाई पार्टी विधानबमोजिम सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेका हुन्।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएर नेपाली कांग्रेसको भ्रातृ संस्था जनसम्पर्क समिति कतारमार्फत पार्टीको संगठन विस्तार, राजनीतिक गतिविधि तथा सामाजिक कार्यमा उनी सक्रिय रहँदै आएका थिए।

महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक हुँदा शर्माको नाम मनोनीत सूचीमा समावेश भएपछि कतारस्थित कांग्रेस वृत्तमा उनको योगदानको उचित कदर भएको भन्दै चर्चा सुरु भएको छ।

महाधिवेशन प्रतिनिधिमा मनोनीत भएपछि शर्माले पार्टी नेतृत्वले आफ्नो इमानदारिताको कदर गरेको र आफूले न्याय पाएको अनुभूति भएको प्रतिक्रिया दिए। “राजनीतिमा इमानदार र निष्ठावान भएर काम गर्ने कार्यकर्ताको योगदानलाई नेतृत्वले पहिचान गर्नु खुसीको कुरा हो। मैले न्याय पाएजस्तो महसुस गरेको छु,” शर्माले भने।

प्रवासमा रहेर पनि पार्टीको संगठन निर्माणमा निरन्तर खटेका शर्माको मनोनयनलाई कतारमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रवासी कार्यकर्ताको समग्र योगदानको सम्मानका रूपमा लिएका छन्।

कांग्रेसको १५औं महाधिवेशनले प्रवासमा रहेका कार्यकर्ताहरूको भूमिकालाई समेत नयाँ ढङ्गले सम्बोधन गर्ने र शर्माको मनोनयनले इमानदार कार्यकर्ताको मूल्याङ्कन हुने सकारात्मक सन्देश दिएको विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *