नेपाल सोसल बिजनेसद्वारा तीन सामाजिक उद्यममा ५५ लाख रुपैयाँ लगानी घोषणा

डिसी नेपाल
२३ असोज २०८३ १९:१७
8
Shares

काठमाडौं। चौधरी फाउन्डेसनको पहलमा सञ्चालित नेपाल सोसल बिजनेस (एनएसबी) ले सामाजिक तथा वातावरणीय क्षेत्रमा क्रियाशील तीनवटा उद्यमहरूमा कूल ५५ लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।

एनएसबीको चौथो चरणको ‘सोसल इम्प्याक्ट फन्डिङ इनिसिएटिभ’ अन्तर्गत ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालि, प्रवाह नेपाल प्रालि र स्याहार प्रोडक्ट्स छनोटमा परेका हुन्।

छनोट भएका उद्यमहरूमध्ये प्लास्टिक तथा सिसाजन्य फोहोरलाई सडक निर्माण सामग्री, इँटा, कम्प्रेस्ड बोर्ड र सिमेन्ट उद्योगको वैकल्पिक इन्धनमा रूपान्तरण गर्दै आएको ग्रीन रोड वेस्ट म्यानेजमेन्टले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यसैगरी, विद्युतीय बाइक भाडामा दिएर दिगो रोजगारी प्रवर्द्धन गर्ने प्रवाह नेपाल र वातावरणमैत्री सरसफाइ तथा सौन्दर्य सामग्री उत्पादन गर्ने स्याहार प्रोडक्ट्सले १५-१५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

लगानीका लागि आयोजना गरिएको प्रस्तुतीकरण कार्यक्रममा व्यावसायिक रूपमा दिगो रहँदै सामाजिक तथा वातावरणीय क्षेत्रमा प्रभाव पार्न सक्ने सम्भावनाका आधारमा यी उद्यमहरू छनोट गरिएको एनएसबीले जनाएको छ।

१० वर्षमा २० भन्दा बढी उद्यमलाई सहयोग

सन् २०१४ मा स्थापना भएको नेपाल सोसल बिजनेसले सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि हालसम्म २० भन्दा बढी उद्यमलाई सहयोग गरिसकेको छ। संस्थाले न्यून ब्याजदर, धितोरहित लगानी र लचिलो भुक्तानी अवधिसहित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ।

चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले लगानी रकम उपलब्ध गराउनु सुरुवात मात्र भएको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य मापनयोग्य, अर्थपूर्ण र दीर्घकालीन प्रभाव सिर्जना गर्नु रहेको बताएका छन्। त्यस्तै, लगानी प्राप्त गर्ने उद्यमीहरूले यस सहयोगले व्यवसाय विस्तार र सामाजिक प्रभाव बढाउन प्रोत्साहन मिलेको प्रतिक्रिया दिएका छन्।

लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन र सिद्धार्थ बैंकको साझेदारीमा सञ्चालित एनएसबीले समावेशी आर्थिक विकास र वातावरणीय क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *