११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

डिसी नेपाल
२२ असोज २०८३ १८:४९
8
Shares

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ।

बाढीबाट विद्युतगृहमा डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो। आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट-२० मेगावाट बिहीबारबाट सञ्चालनमा ल्याइएको हो।

आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो। त्यसपछि टेलरेसबाट विद्युतगृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो। यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो।

विद्युतगृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए। ‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत उत्पादन सुरु गरेका छौं, अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ’, प्रबन्ध–सञ्चालक केसीले भने।

राहुघाट जलविद्युत आयोजनामा २०/२० मेगावाट क्षमताका दुईवटा युनिट रहेका छन्। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *