दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

भेषराज कार्की
२९ असोज २०८३ १५:०९
12
Shares

काठमाडौं। नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ।

दसैँ धार्मिक आस्थाको पर्व मात्र नभई पारिवारिक पुनर्मिलनको अवसर पनि हो। रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरपरिवारबाट टाढा रहेका सदस्यहरू यस अवसरमा घर फर्किने गर्छन्।

परिवारका सदस्य, आफन्त र साथीभाइबीच भेटघाट हुने भएकाले यस पर्वले आपसी सद्भाव, प्रेम र एकतालाई बलियो बनाउँछ। मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्ने परम्परा नेपाली समाजमा विशेष महत्वका साथ कायम छ।

उज्यालो र खुसीको पर्वका रुपमा हेरिने दसैँ अभिनेता राजेश हमालका लागि भने खल्लो हुने गर्छ। टिका कै दिन आमा गुमाउनुभएका अभिनेता हमाल दसैँलाई भव्य रुपमा मनाउँदैनन्।

‘दसैँको दिन मैंले मुमा (आमा) गुमाएपछि मेरा लागि यो पर्वको उल्लास कम नै भएको छ। टिका कै दिन श्राद्ध पर्ने भएकाले सामान्य रुपमा दसैँ मनाउने गर्छु। यो वर्ष प्राकृतिक विपदका कारण धेरै नेपालीहरूको दसैँ खल्लो भएको सुनेको छु, तर संस्कृति संरक्षणका रुपमा यसलाई मनाउनु पनिपर्छ। किनकी यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ’, अभिनेता हमालले भने।

उनले दसैँलाई भड्किलो रुपमा नभई आफ्नो क्षमता अनुसार मनाउन आग्रह गरे। अभिनेता विजय बराल भने यसपटक दसैँ मनाउन गृह जिल्ला सर्लाही जाँदैछन्। विविध कारणले केही वर्ष उनी दसैँमा घर जान पाएका थिएनन्। आगामी कत्तिक ६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कबड्डी ५’ को प्रवद्र्धनको चटारो भएता पनि समय मिलाएर उनी घर पुग्दैछन्।

‘यस वर्षको दसैँ सर्लाहीमै मनाउने तयारीका साथ म घर पुग्दैछु। यता फिल्म प्रमोसनका काम सकाएर घर पुगेर दसैँ मनाउनेछु। यद्यपि, फिल्म प्रदर्शन कत्तिक ६ मा हुने भएकाले टिका लगाएपछि काठमाडौँ नै आइपुग्ने छु। विगतका केहि वर्ष विविध कारणले घर पुग्न सकेको थिइन्, यसपटक गाउँघरमा दसैँ मनाउने योजनाले नै खुसी मिलिरहेको छ’, अभिनेता बरालले भने।

उनलाई दसैँ भन्नासाथ नयाँ कपडा, विभिन्न पाक्वान(परिकार)हरू याद आउँछन्। विशेषत परिवारका सबै सदस्य भेला हुने भएकाले पनि दसैं उनको लागि खास छ। ‘बाल्यकालमा दसैँ भन्नासाथ सबै भेला हुने कुराले खुसी मिल्थ्यो। परिवारसँगै साथीभाई सबै भेला हुने गर्दथ्यौं, अनि दक्षिणा पनि पाइन्थ्यो। अहिले जिम्मेवारी बढेपछि ती समयहरू निकै प्यारा हुने रहेछन्’, उनले भने।

अभिनेता बराल झैँ अभिनेत्री तथा गायिका कविता आलेलाई पनि दसैँ भनेको खुसी साट्ने पर्व जस्तो लाग्छ। अहिलेको दसैँ भन्दा उनलाई बाल्यकाल कै दसैँ प्यारो छ। ‘अहिले त भेटघाट हुने भन्ने लाग्छ, तर बाल्यकालमा भने धेरै रमाइलो लाग्थ्यो। भेटघाट, मिठा खानेकुरा, नयाँ कपडाले साचै दसैँलाई सबैको प्रिय बनाएको जस्तो लाग्छ। अहिले भने भेटघाट गर्ने र मीठोमसिनो खाने जस्तो लाग्छ’, उनले भनिन्।

अभिनेता बुद्धी तामाङ पनि दसैँलाई भेटघाटको कारण खास मान्छन्। ‘यसपटकको दसैँमा दर्शक भेटघाट हुन्छ, विभिन्न हलमा घुमिन्छ, यस्तै हुन्छ जस्तो लागेको छ। दसैँ भन्ना साथ टिका, खानेकुरा र नयाँ कपडा नै सम्झना आउने रहेछ’, उनले भने।

अभिनेता तामाङ अभिनित ‘कबड्डी ५’ प्रदर्शन हुने भएकाले उनले फिल्मका अन्य सदस्यसँगै दर्शकसँग साक्षात्कार गर्ने योजना बनाएका छन्। अभिनेता तामाङ जस्तै अभिनेत्री विपना थापा पनि दर्शकसँग दसैँ मनाउने तयारीमा छिन्। उनको अभिनय रहेको फिल्म ‘आ बाट आमा २’ आगामी असोज ३० देखि प्रदर्शन हुँदैछ। त्यसैले उनी यसपटक परिवारसँग कम र दर्शकसँग बढी दसैँ मनाउनेछिन्।

‘फिल्म प्रदर्शनको कारण दसैँमा पनि हलमा नै घुमघाम गर्ने योजना बनिरहेको छ। आफ्नो मान्यजनबाट टिका थापेपछि हलमै दर्शकलाई भेट्ने छौँ। दसैँ भनेको उज्यालो, सद्भाव र हर्षको पर्व हो। विभिन्न कामले व्यस्त भएका सदस्यहरू भेटघाट गर्ने भएकाले यो पर्व मलाई खास लाग्छ’, उनले भनिन्।

विवाह पश्चात प्राय भारतमा रहने अभिनेत्री थापा यसपटकको दसैँ नेपालमै मनाउँदैछिन। निर्देशक मिलन चाम्स यसपटक दसैँ मनाउन नेपाल बाहिर जाने भएका छन्। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित रहेर तयार भइरहेको फिल्म ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकाएका निर्देशक चाम्सले आफ्नो परिवारसँग घुमघाम गर्ने योजना बनाएका छन्।

‘दसैँमा परिवार लिएर नेपाल बाहिर घुमघाम गर्ने छु। फिल्मको कामले प्राय परिवारलाई समय दिन सकिरहेका हुँदैनौं, त्यसैले समय मिलेको बेला परिवार लिएर घुम्ने गर्छु। हामीले फिल्मको पहिलोचरणको छायांकन सकाएका छौँ, दोस्रो चरण दसैँ पछाडि छायांकन हुनेछ, त्यसैले समयलाई सदुपयोग गरेको हुँ’, निर्देशक चाम्सले भने।

अभिनेता दीपकराज गिरी यसपटक दसैँ आफन्तसँग कम र दर्शकसँग बढी मनाउने तयारीमा छन्। असोज ३१ देखि फिल्म ‘छ माया छपक्कै’ प्रदर्शन हुने भएकाले आफ्नो मान्यजनबाट टिका थापेपछि अभिनेता गिरी हलमै भेटिनेछन्।

‘फिल्म प्रदर्शनको समय भएकाले विहानदेखि मध्यरातसम्म हलमै भेटिन्छु, टिका लगाएपछि बाँकी समय दर्शकसँगै दसैँ मनाउने तयारी छ। अघिल्लो वर्ष फिल्म आएको थिएन, त्यसैले परिवारसँग बढी समय बिताइयो। यो वर्ष फिल्म आउने भएकाले हाम्रो दोस्रो परिवार दर्शकसँग बढी समय बिताउने छु’, उनले भने।

अभिनेता गिरीलाई पनि परिवार सदस्य र साथीभाईसँग भेटघाट हुने भएकाले दसैँ विशेष लाग्छ। अभिनेता दयाहाङ राई पनि दसैँको टिका पछि दर्शकसँग नै भेटघाट गर्दै दसैँ मनाउने योजनामा छन्।

हाल फिल्म छायांकनको लागि काठमाडौँ उपत्यका बाहिर रहेका अभिनेता राई कत्तिक ६ देखि प्रदर्शन हुने फिल्म ‘कबड्डी ५’ प्रदर्शनपछि उपत्यकाका विभिन्न हलमा दर्शकसँगै दसैँ मनाउने तयारीमा छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *