नेपाल प्रहरीलाई अझ सक्षम र प्रविधियुक्त बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

डिसी नेपाल
३० असोज २०८३ १२:५९
8
Shares

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा आउन सक्ने सम्भावित विपद्‌हरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने प्रहरीलाई सबल बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए।

प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको उनले जानकारी दिए।

कर्तव्य पालनाका क्रममा भोटेकोशी-त्रिशूलीको विपद् लगायत विभिन्न समयमा अमरत्व प्राप्त गरेका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते तथा अशक्त प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसको अवसरमा विमोचन गरिएको ‘पुलिस मिरर-२०८३’ ले प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने विश्वास उनले व्यक्त गरे।

बढ्दै गएको वित्तीय र साइबर अपराध नियन्त्रणमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यसका लागि नेपाल प्रहरी, राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एकीकृत गरी नागरिकका गुनासो द्रुत रूपमा सम्बोधन गर्ने व्यवस्था भइरहेको बताए। साथै, कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको समेत उनले जानकारी दिए।

विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई उनले धन्यवाद दिए।

शान्ति सुरक्षा कायम राख्न प्रहरी निरन्तर खटिरहेको बताउँदै संकटका बेला धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै विपद् टार्न सकिने उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहको उक्त शुभकामना सन्देश कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *