विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश-भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं

डिसी नेपाल
४ कार्तिक २०८३ ७:५८

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने बताएका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने स्मरण उनले गराएका छन्।

प्रधानमन्त्री शाहका अनुसार विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्मको मार्गमा अघि बढ्न र विजय हासिल गर्न प्रेरणा प्रदान गर्दछ। टाढा-ढाढा रहेका मान्यजन तथा आफन्त भेटघाट गरी आशीर्वाद लिने यस संस्कृतिले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप प्रगाढ बनाउने धारणा उनले राखेका छन्।

मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्तिलाई त्याग्न विजयादशमीले प्रेरित गर्ने उल्लेख गर्दै उनले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न जोड दिएका छन्। प्रत्येक नागरिकलाई राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै क्षेत्र र नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ।

यस्ता विकृति र विसंगति हटाउन इमानदार प्रयास, दृढ संकल्प र सामूहिक मेहनत आवश्यक पर्ने भन्दै प्रधानमन्त्री शाहले वास्तविक परिवर्तनका लागि सोचका साथै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने बताएका छन्।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न तथा लामो समयदेखि भेटघाट नभएका साथीभाइ र आफन्तसँग खुसी साटासाट गर्न यो पर्व महत्त्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले सबैलाई आ-आफ्नो क्षमता र परिस्थितिअनुसार पर्व मनाउनुका साथै आपसमा सद्भाव, एकता, सम्मान र भ्रातृत्व साटासाट गर्न आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *