यसवर्ष दशैंमा उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षतिमा उल्लेख्य कमी
काठमाडौं। दशैंको समयमा काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना तथा त्यसबाट हुने मानवीय क्षतिमा उल्लेख्य कमी आएको छ। गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाले मात्र ज्यान गुमाएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको सङ्ख्या ५० ले घटेको छ। त्यसैगरी, दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्यामा पनि सात जनाले कमी आएको छ। चाडपर्वका समयमा सडक सुरक्षालाई लक्षित गरी गरिएको पूर्वतयारी र कडा निगरानी प्रभावकारी साबित भएको ट्राफिक प्रहरीको भनाइ छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेका छन्। तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित भई दुर्घटनामा पर्ने गरेको उनले जानकारी दिए।
प्रवक्ता सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गरेकाले सडक सुरक्षामा उल्लेख्य सुधार आएको बताए। यातायात व्यवसायी, मजदुर तथा सम्पूर्ण सरोकारवाला निकायहरूको एकीकृत प्रयासका कारण नागरिकलाई सुरक्षित रूपमा यात्रा गराउन सहज भएको उनको भनाइ छ।
“ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध तवरले काम गर्दा सडक सुरक्षित भएको छ। यातायात व्यवसायी, मजदुर साथीहरू र सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकले सुरक्षित यात्रा गरिरहेका छन्,” प्रवक्ता सुवेदीले भने।
दुर्घटना भइहालेको अवस्थामा पनि तत्काल उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेहरूको ज्यान बचाउन ठूलो सहयोग पुगेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ट्राफिकका साथै जनपथ प्रहरीले नियमित सुरक्षा जाँच, अनुगमन तथा संयुक्त चेकिङलाई प्रभावकारी रूपमा सञ्चालन गरेका थिए।
चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने र चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटनाको जोखिम उच्च रहने भएकाले ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो। उपत्यकाका विभिन्न स्थानमा गरिएको कडा जाँच, सूक्ष्म निगरानी तथा व्यापक प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा प्रत्यक्ष सहयोग पुर्याएको ट्राफिक प्रहरीको विश्लेषण छ।
यस वर्षको दसैँमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आउनु अत्यन्तै सकारात्मक पक्ष भए पनि तीव्र गति र दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटनाको जोखिम भने अझै कायमै रहेको देखिएको छ। यसले सडक सुरक्षामा थप सतर्कता र सचेतना आवश्यक रहेको देखाएको छ। ट्राफिक प्रहरीले सम्पूर्ण चालकहरूलाई गतिको सीमा नियन्त्रण गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र जिम्मेवार भई सवारीसाधन चलाउन पुनः आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment