लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

डिसी नेपाल
१९ कार्तिक २०८३ १६:०२

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्समाथि १६ रनको उत्कृष्ट जित हासिल गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको मध्यम तर चुनौतीपूर्ण योगफल खडा गरेको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए भने निरोशन डिकवेल्लाले २७ रन, दिलीप नाथले २५ रन र आसिफ शेखले २१ रनको योगदान दिएका थिए।

जनकपुर बोल्ट्सका तर्फबाट बलिङ गर्दै बिशाल सुशलिंग र राहुल यादवले समान २-२ विकेट लिएका थिए।

१५० रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो। जनकपुरको सुरुवात अत्यन्तै खराब रह्यो र ६५ रन जोड्दा आफ्ना प्रमुख ७ विकेट गुमाएर टोली गम्भीर दबाबमा परेको थियो।

तल्लो क्रममा हरमीत सिंहले २० बलमा ३३ रन तथा आदित्य महाताले २४ बलमा अविजित ३० रन बनाउँदै आक्रामक ब्याटिङमार्फत टोलीलाई जित दिलाउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन।

लुम्बिनीका बलर डार्सी शर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्ल र तिलक राज भण्डारीले समान २-२ विकेट हात पार्दै टोलीको जित सुनिश्चित गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *