अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्न्यास घोषणा
१४६ गोलको विश्व कीर्तिमानसहित २३ वर्षे यात्राको अन्त्य
काठमाडौं। पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यासको घोषणा गरेका छन्। योसँगै राष्ट्रिय टोलीबाट सन् २००३ अगस्टदेखि सुरु भएको उनको २३ वर्ष लामो ऐतिहासिक र कीर्तिमानी खेल यात्राको अन्त्य भएको छ।
४१ वर्षीय स्टार खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रिय टोलीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्। भिडियो सन्देशमा उनले भनेका छन्, “पोर्चुगाली जनताका लागि, मेराे ७ नम्बरको जर्सी हस्तान्तरण गर्ने दिन आएको छ। यो निर्णय सजिलो थिएन, किनकि केही निर्णयहरू केवल दिमागले मात्र होइन, मुटुले पनि गरिन्छ।”
सन्न्यासको घोषणा गर्नुअघि रोनाल्डो र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकबीच केही विवाद सिर्जना भएको थियो। नेसन्स लिगको खेलमा खेल्न अस्वीकार गर्दै टोलीको क्याम्प छाडेपछि उनी अनुशासनको कारबाहीमा परेका थिए। उक्त विवाद र निलम्बनपछि उनले राष्ट्रिय टोलीको यात्रालाई पूर्णविराम दिने निर्णय लिएका हुन्।
पोर्चुगलको सिनियर टोलीका लागि २३४ खेल खेल्दै रोनाल्डोले १४६ गोल गरेका छन्, जुन अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलको विश्व कीर्तिमान हो। उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप (युरो कप) र सन् २०१९ मा युइएफए नेसन्स लिगको उपाधि उचालेको थियो।
५ पटकका बालोन डी’ओर विजेता रोनाल्डोले ६ वटा फिफा विश्वकप प्रतियोगितामा पोर्चुगलको प्रतिनिधित्व गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा पोर्चुगललाई एक सशक्त, दाबेदार र प्रतिस्पर्धी टोलीको रूपमा उभ्याउन उनले पुर्याएको योगदान सधैँ अविस्मरणीय रहनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment